मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि फार्मको निरीक्षण

पोखरा, २७ असोज । गण्डकी प्रदेशसभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि फार्मको निरीक्षण गरेका छन् ।

कोइरालाले आफ्नो प्रदेश निर्वाचन क्षेत्रअन्तर्गत कास्कीको रूपा गाउँपालिका–३ पोल्याङमा सञ्चालित नमूना कृषि गाउँको अवलोकन गर्दै त्यहाँका गतिविधिबारे जानकारी लिए । निरीक्षणका क्रममा सभापति कोइरालाले स्थानीयवासीलाई फार्ममा पूर्वाधार निर्माण भएकाले अब व्यावसायिक उत्पादनमा लाग्न आग्रह गरे ।

उक्त क्रममा कृषकहरूले आफूहरूलाई प्राविधिकको समस्या भएको बताउँदै पूर्वाधारको काम पनि केही पूरा हुन बाँकी रहेको जानकारी दिए । सभापति कोइरालाले मन्त्रालयसँग समन्वय गरी केही दिनमा प्राविधिक पठाउने विश्वास व्यक्त गरे।

गण्डकी प्रदेशका ३६ वटा गाउँलाई नमूना कृषि गाउँको रूपमा विकास गर्ने गरी २०७५ चैत १० गते गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको औपचारिक शुरुआत गरेको थियो ।

प्रदेशसभा सदस्यको सिफारिसमा ‘एक निर्वाचन क्षेत्र एक नमूना कृषि गाउँ’का रूपमा विकास गर्ने गरी गण्डकी प्रदेशमा अहिले ३६ निर्वाचन क्षेत्रमा ३६ वटा वातावरणमैत्री कृषि फार्म सञ्चालन भएका छन् ।

निरीक्षण कार्यक्रममा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले फार्म व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने बताउँदै अन्य ठाउँको भन्दा राम्रो गरी सञ्चालन गर्न आग्रह गरेका थिए ।

उक्त स्थानमा दुई समूहले बङ्गुरपालनसँगै प्लास्टिक घरभित्र गोलभेँडा खेती गर्दै आएको छ । मन्त्रालयले सञ्चालित कार्यक्रमका साथै चालू आर्थिक वर्षमा प्रदेशसभाका थप ३६ निर्वाचन क्षेत्रमा सो कार्यक्रम सञ्चालन गर्ने गरी ३० करोड रुपैयाँ विनियोजन गरेको छ ।

कार्यक्रम सञ्चालनले पछिल्लो समयमा व्यँवसायिक कृषितर्फ सर्वसाधारणको आकर्षण बढेको छ ।

Loading...