जनशक्ति नहँुदा शव परीक्षण गृह प्रयोगविहीन

सोेलुखुम्बु, २७ असोज । जनशक्ति नहँुदा सोताङमा निर्माण भएको शव परीक्षण गृह प्रयोगविहीन बनेको छ । सोताङ गाउँपालिकाको स्वास्थ्यचौकीमा निर्माण भएको परीक्षण गृह दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको हो ।

प्रदेश सरकारको आर्थिक वर्ष २०७५÷०७६ को पूर्वाधार निर्माणअन्तर्गतको पाँच लाखबाट उक्त गृह निर्माण गरिएको थियो । परीक्षणको लागि आवश्यक सम्पूर्ण उपकरण भए पनि कर्मचारी नभएको गाउँपालिका स्वास्थ्य संयोजक श्री ध्वज राईले बताए । डाक्टरले तालीम लिएपछि मात्र परीक्षण गर्न पाउने भएकाले अहिले सेवा दिन नसकिएको राईको भनाइ छ ।

प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा एमबीबीएस डाक्टरको दरबन्दी भए पनि मेडिकोलिगल तालीम नलिएको स्वास्थ्य संयोजक राईको भनाइ छ । तालीम नलिएका डक्टरले पनि परीक्षण गर्न सक्ने भए पनि कानूनी जटिलताका कारण सेवा प्रदान नगरिएको बताइएको छ ।

कुनै पनि अप्रिय घटनापछि शव परीक्षण गर्नुपरेमा जिल्लाको एक मात्र फाप्लु अस्पताल ल्याउनुपर्ने बाध्यता छ । कोशी पारीको दुई गाउँपालिकाले सेवा लिने गरी सोताङमा निर्माण भएको परीक्षण गृह प्रयोग नहुँदा त्यस क्षेत्रका नागरिकको समस्या जस्ताको तस्तै रहेको स्थानीय ठेरबहादुर कार्कीले बताए । त्यस क्षेत्रमा सडक पहुँच पुगेको भए पनि निरन्तर सञ्चालन नहुँदा परीक्षण गर्नुपर्ने शव बोकेर ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।

गाडी चलेको बेलामा पनि शबबहान नहुँदा महँगो भाडा तिर्नुपर्ने गुदेलका युमन खालिङले बताए । जीपले २२ किलोमिटर सडकमा मात्रै शव बोक्नको लागि ३५ हजारसम्म लिने गर्छन् तर सोताङ क्षेत्र पुग्नको लागि सदरमुकामदेखि करीब ६० किलोमिटर भन्दा बढी छ ।

Loading...