चिनियाँ राष्ट्रपतिको जहाज ल्याण्ड गर्दा र उड्ने बेला मात्र काठमाडौं विमानस्थल बन्द हुने

काठमाडौं, २५ असोज । चीनका राष्ट्रपति सी जिनपिङ आज अपरान्ह साढे ४ बजे काठमाडौ विमानस्थलमा अवतरण गर्ने भएका छन् । चिनियाँ राष्ट्रपति सी को सुरक्षालाई ध्यानमा राख्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उनको जहाज अवतरण गर्ने र आइतबार पुनः उड्ने समयमा केहीबेरका लागि बन्द गरिने बताइएको छ ।

अवतरण र उडानका समयमा विमानस्थल बन्द हुने भएपछि केही एअरलाइन्सका उडानहरु प्रभावित हुने भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले सो समयमा प्रभावित हुने विमान कम्पनीका लागि तालिका हेरफेर गरेको छ । यसअघि तोकिएका उडान तालिका पछाडि सारिएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले भीभीआईपी मुभमेन्टका लागि आज शनिवार केही समय र भोलि आइतबार केही समय उडान तालिका हेरफेर गरिएको जनाएको छ । त्रिअविका प्रवक्ता प्रतापबाबु तिवारीले शनिबार अपराह्न १४ः५५ देखि १७ः५५ बजेसम्म नोटम जारी गरिएको जानकारी दिए । नोटम भीआईपीको आगमनपूर्व उडान तथा अवतरणमा पर्न सक्ने सम्भावित प्रभावबारे एयरम्यानलाई जानकारी दिन जारी गरिने सूचना हो ।

शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् । उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेवियासम्म छन् । विमानस्थलका अनुसार, तालिका परिवर्तन भएका विमानहरूलाई अन्य समयमा मिलाएर उडाइने छ ।

त्यस्तै, चिनियाँ राष्ट्रपति फर्किने दिन आइतबार पनि विमानस्थलको अन्तर्राष्ट्रिय उडान रोकिने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता तिवारीका अनुसार, आइतबार बिहान ११ः२० देखि दिउँसो १३ः५० बजेसम्म अन्तर्राष्ट्रिय उडानका विमानहरूको उडान प्रभावित हुनेछ । जसका कारण ५४ विमानको उडान प्रभावित हुने विमानस्थलले जनाएको छ ।

भीआईपीको मुभमेन्ट सहज पार्न विमानस्थलले ल्यतबm जारी गरेर उडान तथा अवतरण स्थगित गर्दै आएको छ । नेपालको दुईदिने राजकीय भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको आवागमन सहज पार्न यसपटक पनि विमानस्थलले उडान तथा अवतरण स्थगित गर्न लागेको हो ।

राष्ट्रपति सी शनिबार अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेर आइतबार बिहान स्वदेश फर्कने तालिका छ ।