इच्छाकामनाले बनायाे पर्यटकका लागि पैदलमार्ग

मुग्लिन, २५ असोज । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाले पर्यटकका लागि पैदलमार्गमा जोड दिएको छ । सडक निर्माण सँगसँगै पैदलमार्गलाई पनि प्राथमिकता दिएको हो ।

वडा नम्बर ४ मा सडक सञ्जालले सबै बस्ती जोडे पनि पैदलमार्गलाई सँगसँगै स्तरोन्नति गरिएको वडाध्यक्ष होमबहादुर रानाले बताए । पैदलयात्रा रुचाउने पर्यटकका लागि पैदलमार्गलाई सुरक्षित राखेर सडक निर्माण गरिएको अध्यक्ष रानाको भनाइ थियो ।

उनले भने, “वडाको दुर्गम बस्तीमा पनि सडक सञ्जालले जोडी सकेको छ, तर हामीले पैदलमार्गलाई पनि सँगसँगै स्तरोन्नति गरेका छौँ, सडक निर्माण गर्दा सकेसम्म पैदलमार्गलाई बिगारेका छैनौँ ।” इच्छाकामना मन्दिरदेखि वडा नम्बर ४ मा रहेको गुरुङ बस्ती सोराथोक र मगर बस्ती लामीडाँडा गाउँमा जाने पर्यटकका लागि पैदल मार्ग स्तरोन्नति गरिएको हो । ती गाउँसम्म मोटरबाटो पुगिसके पनि पैदलयात्रा रुचाउने पर्यटकका लागि पैदलमार्ग स्तरोन्नति गरिएको वडाध्यक्ष होमबहादुर रानामगरले बताए ।

“वडा नम्बर ४ को सोराथोकमा गुरुङ र लामी डाँडामा मगरको बाक्लो बस्ती छ, गुरुङ र मगरको संस्कृतिको अध्ययन गर्न चाहनेलाई गाउँसम्म पुग्नलाई सडक र मोटरबाटो दुवै सुविधा पु¥याइएको छ, विशेष गरी पैदलमार्गलाई जोड दिइएको छ, गाउँमा पुगेपछि बास बस्न चाहनेका लागि होमस्टे सञ्चालन गरिने छ”, अध्यक्ष मगरले भने । उनका अनुसार यी दुई गाउँमा होमस्टे सञ्चालनका लागि वडाले सहयोग गर्नेछ ।

गाउँपालिकाका प्रवक्ता सावित्री गुरुङले पर्यटन प्रवद्र्धनका लागि जनजाति र चेपाङ बस्तीमा होमस्टे सञ्चालनका लागि गाउँपालिकाले प्रोत्साहन गरिने बताए । जसका लागि सडक सञ्जाल र पैदलमार्गको स्तरोन्नति गर्ने कामलाई गाउँपालिकाले विशेष जोड दिइएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत कुरिनटार र मनकामना केबलकारको तल्लो स्टेशन चेरेशबाट एक घण्टा ३० मिनेट पैदलयात्रामा मगर र गुरुङ गाउँ पुग्न सकिन्छ । पैदलमार्ग रुचाउने पर्यटलाई मगर र गुरुङ बस्ती हुँदै इच्छाकामना मन्दिर पुगेर फर्कन एक दिनको पैदलमार्ग (हाइकिङ)को व्यवस्था छ ।

नजिकै रहेको गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामनाबाट फर्किएका पर्यटकलाई पनि इच्छामकामना मन्दिर तथा जनजाति बस्तीसम्म पु¥याउन वडाले अन्य आवश्यक पूर्वाधार निर्माण गरिने जनाइएको छ । कुरिनटार, त्रिशूली नदी गोरखा, तनहुँलगायतका जिल्लाको रमणीयस्थलको दृश्य अवलोकनका लागि सोराथोक गाउँमा दृश्यावलोकन स्तम्भ बनाउने योजना रहेको प्रवक्ता गुरुङको भनाइ थियो । गोरखाको मनकामना मन्दिर जानका लागि सञ्चालनमा ल्याइएको मनकामना केबलकारको तल्लो स्टेशन चितवनको इच्छाकामना गाउँपालिका–४ मै पर्छ ।

Loading...