प्रथम अन्तर्राष्ट्रिय तमु सम्मेलनको तयारी पूरा

काठमाडौँ, २२ असोज । नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय गुरुङ (तमु) सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । सम्पूर्ण गुरुङ (तमु) समुदायको छाता सङ्गठन तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को आयोजनामा असोज २४ र २५ गते हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको हो ।

गुरुङ समुदायको एकता, अस्तित्व र पहिचानलाई केन्द्रमा राखेर हुन लागेको सम्मेलनमा देशका सातै प्रदेश र ६३ वटा जिल्लाका प्रतिनिधिको सहभागिता रहनेछ ।

परिषद्का अध्यक्ष रेशम गुरुङले नेपालमा पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, भूटान, हङ्कङ, बेलायत, अमेरिका, अस्ट्रेलिया, बेल्जियम, म्यान्मालगायत विश्वका विभिन्न ३५ देशमा रहेका गुरुङ सङ्घ, संस्थाका प्रतिनिधिको सहभागिता हुने जानकारी दिनुभयो ।

“सम्मेलनमा प्रत्येक जिल्लाबाट तीन जना प्रतिनिधि, विभिन्न देशबाट पाँच जना प्रतिनिधि र गुरुङ समुदायका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागिता हुनेछ”, उनले भने । दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न चार शीर्षकमा छ वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।

सम्मेलनमा प्रा डा ओम गुरुङले आदिवासी ‘जनजातिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आन्दोलन र तमु समुदायको सवाल’, डा गणेश गुरुङ र डा सुमित्रा मानन्धर गुरुङले ‘तमु समुदाय र आर्थिक समृद्धि’, डा टेकबहादुर गुरुङले ‘गुरुङ जातिको उत्पत्ति’ र बालनरसिंह गुरुङले ‘खेमा लिपि’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने अध्यक्ष गुरुङले बताए ।

विश्वभर रहेका गुरुङ जातिबीच पारिवारिक सम्बन्ध कायम गर्दै उनीहरूको गौरवमय इतिहासको खोजी तथा निर्माण गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको परिषद्का महासचिव सूर्य गुरुङले बताए ।

Loading...