ऐतिहासिक एवं धार्मिक महत्व बोकेको पाल्पाको भैरव मन्दिरमा भक्तजनलाई नि: शुल्क यातायात

पाल्पा,असोज १५ । प्रशिद्ध भैरवनाथ मन्दिरमा आउने भक्तजनलाई सुबिधा होस् भनेर भैरवस्थान मन्दिरले तीन दिन निशुल्क यातायात सञ्चालन गर्ने भएको छ । दशैँको सप्तमी देखि नवमीसम्म मन्दिरमा पुजाका लागि आउने भक्तजनलाई यात्रा गर्न सहज हुने गरी निशुल्क यातायातको व्यवस्था गरिएको हो ।

ऐतिहासिक एवं धार्मिक महत्व बोकेको पाल्पाको भैरव मन्दिरमा दशैँको बेलामा पुजा गर्न आउने दर्शनार्थीहरूको अत्याधिक भीड लाग्ने गरेको छ । दर्शनार्थीलाई सहज रुपमा मन्दिरसम्म आउन र जान सक्ने गरी तानसेनदेखि भैरवस्थानसम्म जान र आउनका लागि सवारीसाधनको व्यवस्था गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अघिकारीले जानकारी दिए ।

भैरवस्थान मन्दिरमा वर्षभरि आउने दश लाख आन्तरिक भक्तजनमध्ये ५० प्रतिशत दशैँको बेलामा मात्र आउने भएकाले यातायातको व्यवस्था गरिएको हो । यो अवधिमा दैनिक १५ हजारसम्म भक्तजनहरू आउने भएकोले सहज यात्रा गर्न यातायातको प्रवन्ध गरिएको छ । यस्तै अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र गर्भवती महिलाले लाइनमा बस्नु नपर्ने गरी व्यवस्थापन गरिएको छ ।

तानसेनबाट आउने र जाने भक्तजनलाई निशुल्क यातायातको व्यवस्थापन गरेपछि भक्तजन अझै बढ्ने विस्वास समितिको छ । पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही जिल्लाबाट दशैँमा भैरवस्थान आउने भक्तजनलाई यहाँ आउने गर्दछन् ।

बडादशैँमा यहाँ विशेष गरेर रोट चढाउने, बली दिने, पन्चबली गर्ने, भाकल गर्ने भक्तजनहरूको घुँइचो लाग्ने गरेको छ । भैरवनाथ मन्दिरलाइ देवीको शक्ति पीठको रूपमा समेत लिइने भएकाले दशैँमा यहाँ सबैभन्दा बढी भक्तजन आउने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।