मस्को, १४ असोज । विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ । भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी भएका मदिरा सेवनका लागि चिनिएको रुसमा सन् २००३ यता त्यस्तो मदिरा सेवनमा कमी आएको हो ।
खेलकुदमा बढी रुची राख्ने राष्ट्रपति भ्लादिमिर पुटिनले ल्याएका कतिपय सुधारात्मक कदमले मदिरा सेवनमा कमी आएको अध्ययनले देखाएको छ । रुसमा पछिल्ला वर्षमा अल्कोहल बेचबिखनमा कडाई गर्नुका साथै स्वस्थ जीवनशैलीप्रति मानिसहरुलाई आकर्षित गर्न अभियान नै थालिएको छ ।
विश्वमै रुसी गणराज्य अत्यधिक मदिरा सेवन गर्ने मुलुकको रुपमा निकै चर्चामा रहेको थियो भन्दै प्रतिवेदनमा सन् १९९० को दशकमा मानिसको मृत्युको एउटा प्रमुख कारण पनि मदिरा सेवन नै रहेको उल्लेख छ ।
तर पछिल्ला वर्षहरुमा यो प्रवृत्तिमा नाटकीय रुपमा सुधार आएको छ । अध्ययनमा सन् २००३ देखि २०१६ को अवधिमा मदिरा सेवनको दरमा ४३ प्रतिशत कमी आएको देखिएको छ । प्रतिवेदनका लेखकहरुले अल्कोहल सेवनमा कमी भएकै कारण रुसीहरुको औसत आयु पनि बढेको बताएका छन् । सन् २०१८ मा महिलाको औसत आयु ७८ वर्ष र पुरुषको ६८ वर्ष पुगेको थियो । यो रुसकै इतिहासमा सबैभन्दा उच्च हो ।
सन् १९९० को दशकमा पुरुषको औसत आयु ५७ वर्षमात्र थियो । विगतमा सोभियत नेता मिखाइल गोर्बाचेभले आंशिक प्रतिबन्ध सहित मदिरा–विरोधी अभियान नै चलाएका थिए । यसका कारण सन् १९८० देखि १९९० सम्म मदिराको उपभोगमा निकै कमी आएको थियो । तर सोभियत संघको विघटन सहित अल्कोहलको उपभोग एकाएक वृद्धि भयो, र योक्रम सन् २००० को दशकसम्म जारी रह्यो ।
पुटिनको शासनकाल शुरु भएसँगै राति ११ बजेपछि मदिराको बिक्री वितरणमा रोक लगाउनुका साथै खुद्रा बिक्रीमा कर वृद्धि र विज्ञापन प्रशारणमा प्रतिबन्ध लगाइयो । रुसी वयस्क उमेरका व्यक्तिहरुले आजभोलि फ्रान्सेली र जर्मनको भन्दा न्यून मात्रामा अल्कोहल सेवन गरिरहेको डब्लुएचओले जनाएको छ ।मस्कोले हालैमात्र सवारी साधन चलाउँदा सूर्ती सेवनमा समेत प्रतिबन्ध लगाएको छ ।