पटना, १३ असोज । भारतको बिहार राज्यका विभिन्न भागमा परिरहेको भारी वर्षाका कारण पटना समेत राज्यका विभिन्न स्थानमा २९ जनाको मृत्यु भएको छ । बिहार राज्य विपद व्यवस्थापन निकायका अनुसार सोमबारसम्म २९ जनाको मृत्यु भइसकेको छ ।
वर्षा अझै नरोकिएको र खोजी एवं उद्धारका कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । बिहार सरकारले बाढी प्रभावित मानिसको उद्धार गर्न, सहायता सामग्री र औषधि गाउँ नगरमा पु¥याउन भारतीय वायु सेनालाई दुई वटा हेलिकप्टर उपलब्ध गराउन अनुरोध गरेको छ ।
मुख्यमन्त्री नितिश कुमारले आइतबार अपराह्न राज्यको राजधानी पटनाका विभिन्न स्थानको निरीक्षण गरेको थिए । उनले पटनाका डाक बंगला, गान्धी मैदान, कन्कारबाघ सडक लगायतका स्थानहरुको अध्ययन गरी पानी निकासको भरपर्दो व्यवस्था मिलाउन स्थानीय निकायहरुलाई निर्देश गरेका थिए ।
स्थानीय सञ्चार माध्यमसँग कुरा गर्दै मुख्यमन्त्री नितिश कुमारले भारी वर्षाका कारण गंगाको पानीको सतह बढेका कारण जताततै डुबानको समस्या देखिएको बताए । भारतीय जलवायु विज्ञान विभागका अनुसार बिहार र आसपासका क्षेत्रमा अझै दुई दिन भारी वर्षा हुनेछ ।