निःशुल्क स्वास्थ्य शिविरमा २६९ लाभान्वित

लमजुङ, १२ असोज । बेँसीशहर हस्पिटल प्रालि र सनराइज बैंकले संयुक्तरुपमा बेँसीशहरमा आयोजना गरेको एकदिने निःशुल्क परामर्श तथा स्वास्थ्य शिविरमा २६९ जना लाभान्वित भएका छन् ।

हस्पिटलले जिल्लावासीलाई आफ्नै ठाउँमा विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंकको १२औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको शिविरमा हाडजोर्नीका ७७, नाक–कान–घाँटीका ६८, प्रसूति ३५, बालरोग १९ र मधुमेह, उच्च रक्तचाप र थाइराइडका ७० बिरामीले स्वास्थ्य परीक्षण गरेका बेँसीशहर हस्पिटल सञ्चालक समितिका अध्यक्ष गुमानसिङ कँडेलले बताए ।

जिल्लाका बेँसीशहर, गाउँशहर, भुकुण्डेलगायत जिल्लाका विभिन्न स्थानका बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । स्वास्थ्य शिविरका लागि अन्नपूर्ण बाल तथा महिला अस्पतालका पोखराका चिकित्सक तथा स्वास्थ्यकर्मीको समूहले प्राविधिक सहयोग गरेको थियो ।

शिविरमा आउने बिरामीका लागि निःशुल्क स्वास्थ्य परामर्श, औषधिमा ५०, ल्याब तथा भिडियो एक्सरेमा २५ प्रतिशत छुट गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत राम बस्नेतले बताए । सनराइज बैंकले सामाजिक उत्तरदायित्व जिम्मेवारी बहन गर्दै बेँसीशहर हस्पिटलसँग मिलेर शिविरको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतको भनाइ छ ।

Loading...