तुलसीपुर, ११ असोज । पछिल्लो समय दाङमा पनि महिलाको नाममा भू–स्वामित्व बढ्दै गएको छ । मालपोत कार्यालय घोराहीबाट चालू आर्थिक वर्षको डेढमहिनामा ६२३ महिलाले आफ्नो नाममा जग्गा पास गराएका छन् ।
समयक्रमसँगै महिला पनि सचेत एवं चनाखो बन्न थालेको भन्दै यसरी जग्गापास गर्ने हिलाको सङ्ख्यामा वृद्धि भएको मालपोत अधिकृत चेतलाल न्यौपानेले जानकारी दिए । “महिला पनि सचेत बन्न थालेका छन्”, उनले भने, “पछिल्लो समय महिलाले आफ्नो नाममा जग्गा पास गर्ने गरेका छन् ।” सरकारले महिला, दलित र ज्येष्ठ नागरिकका नाममा घरजग्गा पास गर्दा २५ प्रतिशत छुटसमेत दिने गरेकाले पनि थप आकर्षण पैदा गरेको उनको भनाइ छ ।
यसरी महिलाको नाममा जग्गा पास हुन थालेपछि महिला हिंसाका घटनापनि न्यूनीकरण हुने गरेका बताइन्छ । साथै मालपोतमा रजिष्टेशन पास गर्नेको सङ्ख्या पनि वृद्धि भएको छ । मालपोत अधिकृत न्यौपानेका अनुसार चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म घोराहीबाट एक हजार २१२ घरजग्गा पास भएका छन् । जसमा ६२३ महिलाको सङ्ख्या छ भने ५८९ पुरुषको सङ्ख्या छ ।