क्रसकन्ट्री दौडको उपाधि साह र यादवलाई

पर्सा, ११ असोज । जिल्ला एथलेटिक्स सङ्घले आज वीरगन्जमा आयोजना गरेको १० किलोमिटर दूरीको क्रसकन्ट्री दौड प्रतियोगिताको उपाधि अनिलकुमार साहले जितेका छन् । दशैंँ, तिहार र छठपर्वका अवसरमा सङ्घले आयोजना गरेको दौड प्रतियोगितालाई वीरगञ्ज महानगपालिका–१० घडिअर्वाका वर्ष १९ का साहले ३७.५६ मिनेटमा पूरा गरेका हुन् ।

दौड प्रतियोगितामा रौतहटको कटहरीया नगरपालिका– १ भसेडवाका १४ वर्षीय आदेशकुमार यादव दोस्रो र वीरगञ्ज–३ छपकैयाका १८ वर्षीय महम्मद ओसामा हवारी तृर्तीय भएका छन् । दश किलोमिटरको दुरीलाई यादवले ३८.४२ मिनेट र हवारीले ३९.५९ मिनेटमा पूरा गरेका हुन् ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने साहलाई पदकसहित ११ हजार पुरस्कार प्रदान गरिएको थियो । दोस्रो भएका यादवलाई भने पदकसहित पाँच हजार र तेस्रो भएका हवारीलाई पदकसहित तीन हजार पुरस्कार प्रदान गरिएको एथलेटिक्स सङ्घका अध्यक्ष वीरेन्द्र पटेलले जानकारी दिए ।

यस्तै दौड प्रतियोगितामा महिला तर्फको उपाधि वीरगञ्जकी सङ्गीता यादवले जितेकी छन् । उनले १० किलोमिटरको दूरी ४८.१७ मिनेट पूरा गरेकी हुन् । महिला तर्फ रेहाना खातुन द्वितीय र नाजिया हुसन सिद्धिकी तृर्तीय भएकी छन् । महिला तर्फ पहिलो, दोस्रो र तेस्रो भएकालाई पनि क्रमशः पदकसहित ११ हजार, पाँच हजार र तीन हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष पटेलले बताए ।

खुल्ला दौड प्रतियोगितमा पुरुष र महिला गरी १२५ खेलाडीको सहभागिता रहेको एथ्लेटिक्स प्रशिक्षक विशेश्वर पटेलले जानकारी दिए । वीरगञ्जको घण्टाघर चोकबाट शुरु भएको दौडप्रतियोगिता माइस्थान, आदर्शनर, अलखीयामठ, घडीअर्वा, मूर्ली, पारहाउस चोक हँुदै गण्डकचोकमा रहेको शहीद तेजबहादुर अमात्यको शालीकस्थलबाट फर्किएर पुन घण्टाघर चोकमै पुगेर सकिएको थियो ।

Loading...