दुई कम्युनिष्ट योद्धाको सालिक निर्माण गरिने

काभ्रेपलाञ्चोक, १० असोज । पाँचखाल नगरपालिकाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमालेका दुई योद्धाको पूर्णकदको सालिक निर्माण गर्ने भएको छ । नपाले तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँ विकास समितिका अध्यक्ष स्व रुद्रबहादुर बानियाँ र उपाध्यक्ष स्व बलराम सापकोटाको सालिक निर्माण गर्ने योजना बनाएको हो ।

यस वर्ष पाँचखालका दुई योद्धाको सालिक निर्माण गरिने नगरप्रमुख महेश खरेलले बताए। “दुई जनाको सालिक निर्माणार्थ नगरले बजेट छुट्याइसकेको छ, अब जमीनको खोजीमा छौँ”, नगरप्रमुख खरेलले भने । पञ्चायतविरुद्धको आन्दोलनमा क्रियाशील एवं पाँचखाल कम्युनिष्टका अगुवा बानियाँको गत वर्ष चैत ३० गते ६३ वर्षको उमेरमा मस्तिष्कघातका कारण मृत्यु भएको थियो ।

उनि विसं २०४९ र २०५४ मा नेकपा एमालेका तर्फबाट गाविस अध्यक्षमा निर्वाचित भएका थिए । नगप्रमुख खरेलले नगरका अगुवालाई सालिक निर्माणार्थ उपयुक्त स्थान पहिचान गर्न आग्रहसमेत गरे । उनका अनुसार बानियाँको स्मृतिमा चौतारो तथा सापकोटाको सालिक निर्माण गर्न छुट्याइएको बजेटबाट एकै स्थानमा दुवैको सालिक बनाइने भएको हो ।

सापकोटालाई भने करीब २० वर्षअघि पाँचखाल गाविस उपाध्यक्ष रहेको अवस्थामै तत्कालीन विद्रोही पक्षले बेपत्ता बनाएको थियो । विसं २०५६ मङ्सिर १४ गते छिमेकीको घरमा महिला क्षमता अभिवृद्धि तालीम सञ्चालन भइरहेको र साँझपख प्रशिक्षार्थीलाई खाना खुवाउन आफ्नै घरमा व्यस्त रहेका समयमा बेपत्ता बनाइएको र केही वर्षपछि विद्रोही पक्षबाट एक औपचारिक कार्यक्रममा ‘सफाया’ गरेको घोषणा गरिएको थियो ।

सापकोटा तत्कालीन अवस्थामा ‘सर्वहारा वर्गको मुक्ति’ नाराका साथ अभियानमा सक्रिय हुनुहुन्थ्यो । शहीद सापकोटाका पत्नी र दुई छोरी छन् । सापकोटाको पत्नी सरिताले सालिक निर्माणले आफूलाई अनाथ महसुस हुनबाट जोगाएको बताए। सापकोटा परिवारले ‘नेपालका शहीद’मा सूचीकृत गर्न माग गर्दै आएको छ । उनको सम्झानामा केही वर्षअघि उनकै गाउँ ढुङ्गानाबेँसीमा ‘बलराम स्मृति खेल मैदान’ निर्माण गरिएको छ ।