चीनले भन्यो हामी कहिल्यै विचारधारा निर्यात गर्दैनौ

काठमाडौ, ९ असोज । चीनले कुनै पनि देशमा विचार निर्यात नगर्ने बताएको छ । काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले आफ्नो देशले कहिल्यै विचार निर्यात नगर्ने बताएकी हुन् । नेपालमा सी जिनपिङ विचारधाराबारे बहस भइरहेका बेला राजदूत यान्छीको यस्तो भनाई आएको हो ।

चीन अध्ययन केन्द्रले आयोजना गरेको ‘सी जिनपिङ थटः बिल्डिङ अ कम्युनिटी विद अ सेयर फ्युचर फर मेनकाइन्ड’ शीर्षकको कार्यक्रमलाई आज सम्बोधन गर्दै राजदूत होउले सी विचारधारा पहिल्यै अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख गरिन् ।

चीनले पहिले पनि अन्य देशमा विचार निर्यात गरेको र अब पनि नगर्ने राजदूत यान्छीले बताइन् । उनले चीनले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने पनि स्पष्ट पारिन् ।

चीनका राष्ट्रपति सी जिनपिङको आसन्न नेपाल भ्रमणका क्रममा चीनबाट आएका कम्युनिष्ट पार्टी र थिङ्कट्याङक समूहहरूले काठमाडौंमा निरन्तर सी जिनपिङ विचारधारमाथि बहस चलाइरहेका छन् ।

कार्यक्रममा राजदूत यान्छीले चीन कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीच भएको वैचारिक बहसलाई अन्य अर्थमा नबुझ्न समेत आग्रह गरिन् ।

‘सी जिनपिङ विचारधारा यसअघि नै अन्तर्राष्ट्रियकरण भैसकेको छ’, उनले भनिन्, ‘विकासको नयाँ अवधारणा भएकाले नेपालजस्ता विकासशील राष्ट्रमा सी विचारधार बहसको तातो विषय बनेको हो।’

हालै नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको वैचारिक बहसलाई विपक्षी कांग्रेस पार्टी लगायतले आपत्ति जनाएका छन् । राजदूत होउले नेपाल–चीन घनिस्ठ सम्बन्ध भएका मित्रराष्ट्र भएको दोहोर्याउँदै दुई देशबीचका छलफलहरु आर्थिक र सामाजिक विकासको विषयमा केन्द्रित रहेको उल्लेख गरिन् ।

Loading...