आवधिक योजनामा घरको सङ्ख्या पनि

मिक्लाजुङ, ९ असोज । आवधिक योजना निर्माणलाई सहयोग पु¥याउने उद्देश्यले पाँचथरको याङ्वरक गाउँपालिकाले घरधुरीको तथ्याङ्क लिनका लागि स्टिकर टाँस्न शुरुआत गरेको छ । वस्तुगत विवरण तयार पार्नका लागि प्रत्येक घरको मोबाइल एप्समार्फत सङ्ख्या लिन थालिएको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरले बताए ।

अहिले पहिलो चरणमा वडा नं २,४ र ६ मा घरको सङ्ख्या गणना गर्न थालिएको र बाँकी वडामा क्रमशः गणना गदै जाने उपाध्यक्ष कमलकुमारी योङहाङले जानकारी दिए । गाउँपालिकाले थालनी गरेको आवधिक योजना निर्माणमा सङ्ख्या राख्दा धेरै सहज हुने उनले बताए ।

घरसङ्ख्याको आधारमा मोबाइल एप्समार्फत उक्त घरको विस्तृत विवरण थाहा पाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवीणहाङ योङहाङले बताए । पारिवारिक विवरण, जग्गाजमीनको स्वामित्व, आर्थिक स्थिति, पेशा, व्यवसाय, अपाङ्गता, गर्भावती महिलालगायत सबै विवरण थाहा पाइने गाउँपालिकाका कम्प्युटर अपरेटर गणेश खतिवडाले बताए । घरको सम्पूर्ण विवरण थाहा पाउने भएपछि गाउँपालिकालाई योजना निर्माणका क्रममा रणनीति बनाउनसमेत सहयोग पुग्ने उनको भनाइ थियो ।

Loading...