सुर्खेत, ८ असोज । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारले सङ्गठन र संरचना व्यवस्थापन गरेको बताएका छन ।
कर्णाली प्रदेशसभाको आज बसेको चौथो अधिवेशनको ३१औँ बैठकमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै योजनामन्त्री ज्वालाले प्रदेशको विकासका लागि सङ्गठन र संरचना व्यवस्थापन गरिएको बताए । प्रदेशको विकास र जनताको सेवालाई सहज एवं छरितो बनाउन सरकारले यो काम गरिएको उनले जनाए ।
विनियोजन विधेयकसँग आश्रित विधेयक पारित हुन व्यक्ति गरिएका प्रतिबद्धता कार्यान्वयनमा ढिलाइ भएको स्वीकार्दै उनले भने, “सरकारले संसद्को मानमर्दन गरेको छैन र यसबाट पारित भएका सबै कुरा कार्यान्वयन गर्न प्रतिबद्ध छ । यद्यपि विनियोजन विधेयकअनुसार साउन १५ भित्रै काम हुन नसक्दा समस्या भएकामा सरकार आत्म आलोचित छ ।”
प्रदेश सरकारका प्रमुख सचिव संयोजकत्वको टोलीले चालूतर्फको बजेट घटाएर पूँजीगततर्फ बढाएको तर विनियोजन नगरेको संसद्लाई बताउनुभएका मन्त्री ज्वालाले सो बजेट प्रदेश गौरवको योजनामा थप्ने जानकारी दिए ।
उनका अनुसार प्रदेश सरकारको यही असोज ३ गते बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली पूर्वाधार लगानी कोषका नाममा विनियोजन गरेको रु तीन अर्ब बजेटमध्येबाट जनता सडक कार्यक्रमका गर्न रु एक अर्ब ९२ करोड भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाउने निर्णय गरेको थियो ।
कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विनियोजन विधेयक सदनबाट केही परिमार्जनसहित पारित भइसकेपछि साउन १५ मा त्यसको अङ्ग बनाइसक्नुपर्नेमा सरकारले गरेका त्रुटिका कारण संसद् अवरुद्ध गरिएको बताए ।
प्रतिपक्षको अवरुद्धपश्चात् सरकार आफ्ना त्रुटिमा आलोचित भएपछि कानूनी राय, दलका नेता, कानून विज्ञ र कार्यव्यवस्था समितिका सदस्यको छलफलबाट विनियोजन ऐनको दफा ९ माथि टेकेर अवरुद्ध संसद् खोलिएको जनाए ।
प्रदेशसभा सदस्य गोपाल शर्माले प्रतिपक्षीले जोशमा सदन बन्द गर्ने र होसमा खोल्ने परिपाटी अनुपयुक्त भएको टिप्पणी गरे । अर्का प्रदेशसभा सदस्य अमरबहादुर थापाले सत्तापक्ष र प्रतिपक्षको दुवैको लापरवाहीका कारण संसद्को मानमर्दन तथा जनता र कर्मचारीले दुःख पाएको आरोप लगाए । उनले सदनलाई सडक बनाउने प्रवृत्ति त्याग्न दुवै पक्षलाई सचेत गराए ।
त्यस्तै प्रदेशसभा सदस्यद्वय पदमबहादुर रोकायले बजेट अख्तियारी चाँडो पठाउन सरकारलाई आग्रह गरे भने वीरबहादुर शाहीले दशैँ तिहारका साथै सुर्खेतबाट नेपाल एयरलायन्सको जहाज सुर्खेतबाट नियमित सञ्चालन गर्नतर्फ पहल गर्न सरकारको ध्यानाकर्षण गरे ।
बैठकमा प्रदेशसभा सदस्य रातो कामी, धर्मराज रेग्मी, कौशिला खत्री, देवी ओली, सोशीला शाही, पद्मा खड्काले कर्णाली प्रदेश जन्माउन जीवन बलिदान गर्ने र प्राकृतिक विपद्बाट ज्यान गुमाएका तथा घाइतको परिवारलाई राहत, सीपमूलक कार्यक्रम दिन तथा स्वास्थ्योपचारमा सहयोग पु¥याउन आग्रह गरेका थिए ।
विनियोजन विधेयक पारित
‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४’ लाई पहिलो संशोधन गर्न बनेको विधेयक पारित भएको छ । आज बसेको प्रदेशसभाको ३१औँ बैठकमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई संशोधन गर्न बनेको विधेयक पारितका लागि सभामा पेश गर्न आदेश गरे । सभामुख शाहीले विधेयक पारितका लागि दिनुभएको अनुमतिलगत्तै मन्त्री ज्वालाले पेश गर्नुभएको विधेयक सर्वसम्मतले पारित भएको हो ।
त्यसैगरी प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावले यसअघि प्रदेशसभामा पेश गर्नुभएको ‘प्रदेश खेलकूद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि संशोधन प्रस्तावपरी सभामा छलफल भएपश्चात्को निर्णय र प्रतिवेदन आजै सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले सभासमक्ष पेश गरे । प्रदेशसभाको अर्को बैठक भोलि दिउसो ३ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।