चेम्बरद्वारा छात्रवृत्ति प्रदान

काठमाडौँ, ७ असोज । नेपाल चेम्बर अफ कमर्सले आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित पाँच छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । चेम्बरले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशबाट ती छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति प्राप्त गर्नेमा प्रदेश १ बाट अनु पौडेल (सङ्खुवासभा) र मेनुका गुरुङ (सुनसरी), प्रदेश नं २ बाट सुप्रया ठाकुर (रौतहट), प्रदेश नं ३ बाट अन्वेषा खड्का (दोलखा) र कृटिना श्रेष्ठ (काठमाडौँ) रहेका छन् ।

कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षाबाट वञ्चित छात्रालाई निःशुल्क पढ्ने वातावरण बनाउन छात्रवृत्ति प्रदान गरिएको चेम्बरले जनाएको छ । छात्रवृत्ति प्राप्त गरेका छात्राले एपियुसँग आबद्ध एलबिइएफ (लर्डबुद्ध) क्याम्पस मैतीदेवीमा तीनवर्षे स्नातकमा बिए बिजनेस म्यानेजमेन्ट अध्ययन गर्न पाउनेछन् । दश जोड २ पास गरेका विद्यार्थीले यो छात्रवृत्तिका लागि आवेदन दिएका थिए । उनीहरुले ३ वर्षको अवधिभर रु छ लाख ६५ हजार बराबरको अध्ययन शुल्कको छात्रवृत्ति प्राप्त गर्नेछन् ।