बलेवा, ७ असोज । गत शैक्षिक सत्रमा सातजना शिक्षक रहेको विद्यालयमा छजना मात्रै विद्यार्थी थिए । भएका विद्यार्थीसमेत नियमित विद्यालय नआउने गरेका कारण विद्यालय सधैं सुनसान जस्तै हुन्थ्यो । बागलुङ बजार नजीकै रहेको गणेश प्राथमिक विद्यालयमा विद्यार्थी कम भएको धेरै समय भइसकेको थियो ।
बागलुङ नगरपालिका–४ पाखाथरका अधिकाँश विद्यार्थी बागलुङ बजारका निजी विद्यालयमा गएपछि विद्यालय सुनसान बन्न थालेको हो । एक वर्ष पहिलेसम्म शिक्षकभन्दा विद्यार्थी कम रहेको विद्यालयले यो शैक्षिक सत्रमा भने ८ वटा कक्षामा ४७ जना विद्यार्थीलाई वार्षिक परीक्षामा सहभागी गराउने छ ।
अहिले निजी विद्यालयकै ढाँचामा कक्षा सञ्चालन भैरहेको यस विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म ८ वटा कक्षा सञ्चालन हुन थालेका छन् । विद्यार्थी सङ्ख्या न्यून रहेका विद्यालयहरुका विद्यार्थी र शिक्षकलाई पायक पर्ने विद्यालयमा व्यवस्थापन गर्ने भनी बागलुङ नगरपालिकाको शिक्षा समितिले निर्णय गरेपछि गणेश प्राथमिक विद्यालय व्यवस्थापनमा पर्ने पहिलो विद्यालय थियो तर, सोही निर्णयले नै विद्यालय व्यूँतियो ।
“नगरले गरेको निर्णय कार्यान्वयन गर्नु पूर्व हामीले १५ दिनको समय माग्यौं,” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार विक्रम क्षेत्रीले भने – “१५ दिनमा समुदायसँग छलफल गरेर विद्यार्थी सङ्ख्या पु¥याउन लाग्यौं ।” अहिले विद्यालयमा सबै विद्यार्थी र शिक्षक समयमै आउँछन् । पठनपाठन पनि राम्रो हुन्छ । विद्यार्थी फेरि छोडेर निजी विद्यालयमा जाने अवस्था अब देखिँदैन ।
विद्यालय व्यवस्थापन समिति र समुदायको सक्रियतामा निजी विद्यालयमा अध्ययन गरिरहेका ४१ जना विद्यार्थी अहिले गणेश प्राविमा फर्केका छन् । विद्यालय नै नरहने अवस्था सिर्जना भए पछि निजी विद्यालयकै पाठ्यक्रम लागू गर्ने अभिभावकहरुको शर्त पालना गर्दै विद्यालयले विद्यार्थी सङ्ख्या पु¥याएको हो ।
“स्वास्थ्य, शिक्षा र सुरक्षा अभिभावकहरुको शर्त थियो,” प्रधानाध्यापक कल्पना पौडेल शर्माले भने – “स्वास्थ्यको ख्याल, पानी, अंग्रेजी माध्यम र विद्यालय भवन परिसर तारबार गरेर विद्यार्थी सङ्ख्या पु¥याएका छौं ।” उनका अनुसार विद्यालय भवन परिसरको तारबारका लागि वडा कार्यालयले सहयोग गरेको हो भने शुद्ध पानीको लागि युरोगार्ड ऋण काँडेर खरिद गरिएको हो ।
शिक्षा ऐनमा व्यवस्था भए अनुसार पहाडका विद्यालयहरुमा प्रतिशिक्षक ४५ जना विद्यार्थी हुनुपर्ने व्यवस्था छ । बागलुङ नगरपालिकाले भने त्यसको १० प्रतिशत विद्यार्थी सङ्ख्या हुने विद्यालयले कक्षा सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ । नगरको शिक्षा समितिले गरेको व्यवस्था अनुसार अब गणेश प्राविलाई विद्यार्थी सङ्ख्या नपुगेर व्यवस्थापनमा जानुपर्ने छैन ।
अहिले नर्सरीमा १२ जना, एलकेजीमा आठजना, युकेजीमा सातजना, कक्षा १ मा छजना, कक्षा २ मा पाँचजना, कक्षा ४ र ५ मा चार÷चारजना विद्यार्थी छन् । कक्षा तीनमा भने गत वर्ष कक्षा २ मा विद्यार्थी नरहेको र निजी विद्यालयबाट आउने विद्यार्थी समेत नभएकाले खाली रहेको छ ।
“हामीले गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता जनाएर विद्यार्थी फर्काएका हौं,” अध्यक्ष क्षेत्रीले भने – “राज्यको ठूलो लगानी रहेका सामुदायिक विद्यालयको सुधार आवश्यक छ जसको थालनी हामीले ग¥र्यौं ।” पठनपाठनमा प्रभाव पर्न नदिन विद्यालयले बाल विकास केन्द्रका सहजकर्तालाई पनि अतिरिक्त समय उपल्लो कक्षामा दिन भनेको छ ।
अहिले यहाँ तीन निजी स्रोतका शिक्षक, तीन दरबन्दीका शिक्षक र एक राहत दरवन्दीका शिक्षकले पठनपाठन गराइरहेका छन् । “पहिले विद्यार्थीको सङ्ख्या पनि धेरै थियो र विद्यालयहरु ठाउँठाउँमा खुलेका थिए,” नगर प्रमुख जनकराज पौडेलले भने – “नियुक्ति पाएबापत तलब र पढाउन भत्ता चाहिने मानसिकता शिक्षकहरुमा विकास हुँदा सामुदायिक विद्यालय मारमा परे ।” गणेश प्राविले देखाएको सक्रियता अरु विद्यालयका लागि समेत उदाहरण भएको छ र पौडेल विद्यालयको सफलताको श्रेय प्रशासन, व्यवस्थापन र समुदायलाई दिए ।