एक लाख राशीको पत्रकारिता पुरस्कार थापालाई, काउन्सीलले दुई दर्जन पत्रकारलाई पुरस्कृत गर्दै

काठमाडौं, ५ असोज । प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रमा योगदान पु¥याए वापत पुरस्कार पाउनेहरुको नाम घोषणा गरेको छ । काउन्सीलले ५० औ वार्षिक उत्सवको अवसरमा पुरस्कार पाउनेहरुको नामावली सार्वजनिक गरेको हो ।

काउन्सीलले यसवर्षको गोपालदास पत्रकारिता पुरस्कार पत्रकार गोविन्दबहादुर थापालाई दिने निर्णय गरेको छ । १ लाख ५१ हजार रुपैयाँ राशीको पुरस्कार हाँक साप्ताहिकका सम्पादक थापालाई दिने निर्णय काउन्सीलले गरेको हो ।

त्यस्तै काउन्सीलले यसवर्षको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व सभापति सुरेश आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी काउन्सीलले ५० हजार राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार बाँकेको दैनिक नेपालगञ्जलाई दिने निर्णय गरेको छ । त्यस्तै भाषागत पत्रकारिता पुरस्कार सुनसरीका मो. हसन मियालाई दिने निर्णय गरेको छ । यो पुरस्कार २० हजार राशीको रहेको छ । २० हजार राशीकै अर्को साहित्यिक पत्रकारिता पुरस्कार अन्तर्बोध साहित्यिक त्रैमासिकलाई प्रदान गर्ने निर्णय काउन्सीलले गरेको छ ।

प्रेस काउन्सीलले यस वर्षको क्रियाशील पत्रकारिता पुरस्कार गोरखाका नेपालभूषण न्यौपाने, मोरङका शिवबहादुर कार्की, यज्ञप्रसाद शर्मा, धादिङका सीतारामप्रसाद बर्मा, कञ्चनपुरका हरि जोशी, धनुषाका बालकृष्णप्रसाद, खोटाङका शंकर कार्की, दैलेखका विष्णुप्रसाद शर्मा र सुनसरीका विश्वमणि सुवेदीलाई प्रदान गर्ने निर्णय काउन्सिलले गरेको सूचना अधिकारी दीपक खनाललाई दिने निर्णय गरेको छ । यो पुरस्कार २० हजार रुपैयाँ राशीको रहेको छ ।

त्यस्तै यसवर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारका लागि काठमाडौंकी मीना तिवारी घिमिरे, रुकुमका अजयदीप शर्मा, सुनसरीका अमर खड्का, कपिलवस्तुका डिलाराम भुसाल, कपिलवस्तुका करुण अर्याल, इलामका विधान श्रेष्ठ, सुनसरीकी निलिफा सुब्बा, काठमाडौंकी मन्जिमा ढकाल, कैलालीका सोमबहादुर थापा र धनुषाकी रिङ्कु मिश्र (गायत्री)लाई दिने निर्णय गरिएको छ । यो पुरस्कार १५ हजार रुपैयाँ राशीको रहेको छ ।

प्रेस काउन्सिलले यस वर्षका लागि वर्ष कर्मचारी पुरस्कार सविता बानियाँ र हर्कबहादुर श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । वर्ष कर्मचारी पुरस्कारको राशी २० हजार रुपैयाँको रहेको छ । त्यस्तै प्रेस काउन्सिलले १० हजार राशीको कर्मचारी प्रोत्साहत पुरस्कार विपुल पाण्डेलाई दिने निर्णय गरेको छ ।

Loading...