किशोरी छँदा कल्पना आचार्यको मनमा नायिका बन्ने सपना हुर्किएको थियो । नृत्य र खेलमा विशेष रुची र दक्षता भएकी उनी जीउडालले पनि उत्तिकै सुन्दर थिइन् । उनको प्रतिभा र क्षमताले रोल्पा लिबाङ वरिपरि उनी उत्तिकै प्रख्यात पनि थिइन् । सबैले उनलाई वाहवाह गर्थे । मनमा हौसला बुलन्द थियो । तर त्यो समयमा रोल्पाबाट नायिका बन्ने कुरा उनको पहुँचमा भएन ।
बुवा बिनय भूषण आचार्य र आमा तारा आचार्यको कोखबाट २०३७ जेठ १२ गते रोल्पाको लिबाङमा जन्मेकी कल्पना २०५२ तिर दाङ भरिन् । त्यसको केही वर्षपछि तुलसीपुर क्षेत्रका कलाप्रेमी युवाहरुको उत्साहले उनले एकता चलचित्र निर्माण गरिन् । खासमा उनी यो चलचित्रमा नायिका बन्ने तयारीमा थिइन् । तर काकताली अलि मिलेन । उनी चरित्र अभिनेत्री र निर्मात्री बनिन् । नायिकामा उनले पूजा लामालाई लिइन् । एकतामा बीरेन श्रेष्ठ, नबीन श्रेष्ठ, राजेन्द्र खड्गी लगायतका कलाकारहरुको सहभागिता थियो । चलचित्र तयार हुँदासम्म उनको करिब २० लाख सकियो ।
त्यो समयमा दाङमा राष्ट्रिय कलाकारहरु लिएर चलचित्र बनाउनु चानचुने कुरा थिएन । फलामको चिउरा चपाउनु सरहको कार्य उनले फत्ते गरिन् । ‘एकता चलचित्र निर्माण गर्दा धेरै दुख र संघर्ष गर्नुप¥यो ।’ अभिनेत्री कल्पनाले लामो स्वास छोड्दै भनिन् ‘एकताबाट मैले संघर्ष गर्ने प्रेरणा पनि पाएँ, आज जे छु यसैको कारण हो ।’
नायिका बन्ने सपना अधुरै रहे पनि अभिनेत्रीको रुपमा उनले एकतापछि चलचित्र बाचा, पुरानो हुँदैन माया, छ फिट लाइफ, लाज लगायतमा अभिनय गरिन् । जिन्दगीको २० वर्षको उर्बर समय दाङमा बिताएर अभिनेत्री कल्पनाले कला, संगीत र सौन्दर्य क्षेत्रमा निकै महत्वपूर्ण योगदान दिइन् र थुपै्र प्रतिभाहरुको मार्गदर्शक बनिन् । जीवनका अनेक आरोह–अवरोह झेल्दै र संघर्षका उत्ताल छालहरुमा हेलिंदै बाल्यकालमा मनमष्तिष्कमा गढेको सपना लिएर अभिनेत्री कल्पना तीन वर्ष अघि काठमाडौं हानिएकी छिन् र कलाक्षेत्रमा सक्रिय छिन् । वहुचर्चित टेलिसिरियल ‘भाग्य आफ्नो–आफ्नो’ मा चरित्र अभिनेत्रीको रुपमा अभिनय गरिरहेकी छिन् । उनको दुई टेलिसिरियल समयः एक कथा र ओम शान्ति क्रमशः कान्तिपुर टेलिभिजन र डिसहोममा रमाइलो टिभी च्यानलबाट शीध्र प्रसारण हुँदैछन् ।
नेपाल ब्युटिसियन संघको राष्ट्रिय उपाध्यक्ष रहेकी अभिनेत्री कल्पनाले सन् २०१८ मा काठमाडौंमा आयोजित मिसेस नेपालको ताज जितेकी थिइन् । कलाक्षेत्रमा विशिष्ट योगदान पु¥याएकोमा २०७२ मा उत्सर्ग फिल्मस् नेपालले उनलाई उत्सर्ग चलचित्र पुरस्कार प्रदान गरेको थियो । सन् २०१५ मा उनले भारतमा सुचित्रा सेन अन्तारष्ट्रिय अवार्ड प्राप्त गरेकी थिइन् । ब्यूटी पेजेन्टकी राष्ट्रिय प्रशिक्षक समेत रहेकी अभिनेत्री कल्पना दर्जनौं संघसंस्थाबाट सम्मानित एवं अभिनन्दित भएकी छिन् ।
अभिनेत्री कल्पनाले काठमाडौंमा आफ्नो कलायात्रा संगसंगै दुई सन्तान एक्लै हुर्काइरहेकी छिन् । छोरा डेविड सफ्टवेयर इञ्जियरिङको स्नातक तहको अन्तिम वर्षको पढाइ गर्दैछन् भने छोरी याङशु कक्षा ६ मा पढ्दै छिन् । छोरी याङ्शु पनि उनीसंगै कलाक्षेत्रमा सक्रिय छिन् । याङ्शुले नाइ नभन्नू ल ३ लगायत थुप्रै चलचित्र र दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । केही समयअघि सिंगापुरमा आयोजित इन्टरनेशनल किड्स अफ द इयर मा याङ्शु फस्र्ट रनर अप भएकी थिइन् ।
अभिनेत्री कल्पना याङ्शुलाई भविष्यमा चलचित्र क्षेत्रमा नायिकाको रुपमा स्थापित गराउने तयारीमा छिन् । नायिका बन्ने आफ्ना अधुरो सपना उनी याङ्शुबाट पूरा गराउन चाहन्छिन्, भन्छिन् ‘समय र परिस्थितिले साथ नदिंदा म त नायिका बन्न सकिन । अब त्यो सपना याङ्शुबाट पूरा गर्छु ।
दुःख र संघर्षको आँधी, अनेकन सामाजिक अड्चन र असयोगका साथै जब्बर चुनौती र प्रतिकूलतालाई एकएक नाघ्दै जीवनलाई एक गजबको लय र उच्चता दिन सफल अभिनेत्री कल्पना संघर्षशील महिलाहरुका एक रोलमोडल हुन् ।






