काठमाडौँ, ४ असोज । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भृकुटीमण्डपमा जारी नेपाल यार्न एण्ड टेक्सटाइल एक्स्पो अवलोकन गरेका छन् । नेपाली उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल धागो उत्पादक सङ्घले आयोजना गरेको पाँचदिने प्रदर्शनी अवलोकन गरी उनले केही उत्पादनसमेत खरीद गरे । सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रियामा नेता देउवाले नेपाली उत्पादनलाई प्रवद्र्धन गरिनुपर्नेमा जोड दिए ।
अवलोकनमा सांसदहरु पुष्पा भुसाल र दिव्यमणि राजभण्डारी पनि सहभागी थिए । धागो उत्पादक सङ्घका अध्यक्ष पवन गोल्यानले उनलाई नेपाली धागो र कपडा उद्योगका विषयमा जानकारी गराएका थिए ।
धागोमा नेपाल आत्मनिर्भर भए पनि कपडा अझै आयात गर्न बाध्य हुनु परेको उनले सुनाए । हाल मागको १५ प्रतिशत कपडा मात्र नेपालमा उत्पादनमा हुन्छ । पचासी प्रतिशत विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको धागो उत्पादक सङ्घले जनाएको छ ।
धागो भने वार्षिक ११ अर्बको निर्यात हुने गरेको छ । विद्युत् र बैंक ब्याजदरमा सहुलियत दिए कपडामा पनि आत्मनिर्भर बन्न सकिने व्यवसायीको भनाइ छ । चोरी पैठारी र न्यून बिजकीकरणको समस्याले पनि नेपाली कपडा उद्योगलाई असर गरेको छ । यसलाई रोक्न पनि व्यवसायीले सरकारसँग माग गरेका छन् ।
भोलि आइतबारसम्म चल्ने प्रदर्शनीमा दर्शकको उल्लेख्य उपस्थिति छ । नेपालीको महान् बडादशैँ तथा शुभ दीपावलीको पूर्वसन्ध्यामा प्रदर्शनी आयोजना गरिएको हो ।