तुलसीपुर, ४ असोज । दाङमा विद्युत्को करीब नौ करोड उठन बाँकी रहेको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुर र घोराहीको आठ करोड ८१ लाख ६९ हजार ८७२ बक्यौता उठ्न बाँकी रहेको छ । तुलसीपुर वितरण केन्द्रबाट गएको आर्थिक वर्षको चार करोड ४५ लाख ३४ हजार ४०४ बक्यौता उठ्न बाँकी छ, भने घोराहीबाट चार करोड ३६ लाख ३५ हजार ४७२ बक्यौता उठ्न बाँकी रहेको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख दीपक चौधरीका अनुसार सरकारी कार्यालयले समेत विद्युत्को बक्यौता बुझाएका छैनन् । गएको वर्ष विद्युत्को महशुल नबुझाउनेमध्ये तुलसीपुरमा ५९ वटाको लाइन काटिएको प्रमुख चौधरीको भनाइ छ । लाइन काटिएपछि जरिवाना तिरेर पुनः विद्युत् जडान गर्न सकिने उनको भनाइ छ ।
ग्राहकको काटिएको लाइन जडान गरेबापत २५ लाख ६४ हजार ३८३ राजश्व सङ्कलन भएको छ । लाइन काटिएर बाँकी बक्यौता नतिर्ने ग्राहकमध्ये अघिल्लो आवसम्ममा ४८ जनालाई कालोसूचीमा राखिएको छ । साथै चालू आव २०७६÷०७७ मा तीन जना ग्राहकबाट एक लाख ७८ हजार ३० असुल गरिएको उनले बताए।
बक्यौता उठाउनका लागि पटक–पटक पत्र पठाउनुका साथै पत्रचार गर्ने गरेको प्रमुख चौधरीको भनाइ छ । महशुल नबुझाएको दुई महीनापछि लाइन काटिने गर्छ । तुलसीपुरमा ३८ हजार ९९१ ग्राहक रहेका छन् । घोराहीमा करीब ३५ हजार ग्राहक छन् । लमही नगरपालिका क्षेत्रमा २५ हजार रहेका छन् ।
विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले विद्युत् चुहावट नियन्त्रण कार्यलाई प्रभावकारी बनाउँदै आएको छ । पछिल्लो समय विद्युत् चुहावट अत्यधिक हुने गरेको भन्दै त्यसको निगरानीलाई कडाइ गरेको प्रमुख चौधरीले बताए । चुहावट रोक्न टोली परिचालन गरिएको छ । गएको आवमा ४७ वटा चुहावट कारवाही गरिएकोमा त्यसबाट चार लाख ९२ हजार ४१२ असुल गरिएको थियो ।
अघिल्लो आव २०७४÷०७५ मा ३०.८६ प्रतिशत चुहावट रहेको थियो भने गत आव २०७५÷०७६ मा त्यसलाई २१.६८ प्रतिशतमा ल्याउने लक्ष्य राखिएकोमा १९.३० प्रतिशत कायम भएको थियो । बजार क्षेत्रभन्दा गाउँमा बढी चुहावट हुने गरेको छ । गएको वर्ष सबैभन्दा बढी गोलटाकुरीमा चुहावट भएको थियो । त्यसैगरी फूलबारी र कचिलामा भएको थियो । बजार क्षेत्रमा भने फाटफुट मात्रामा चुहावट हुने गरेको छ ।
विद्युत्को पोलबाटै हुकिङ गरी लैजाने गरेको छ । घरमा मिटर नै जडान नगर्ने तर विद्युत चोरी गरी चलाउने गरेको भन्दै यस्तालाई कारवाही गर्न थालिएको बताइएको छ । कारवाही गरिएकाबाट प्रयोग गरेको परिमाणको आधारमा जरिवाना गर्ने गरिएको छ । प्रायः गर्मी समयमा बढी चुहावट हुने र पानी तान्ने मोटरलगायत अन्य इलेक्टोनिक्स सामग्री बढी प्रयोग गर्ने गरेका छन् । उनीहरुलाई कम्तीमा रु दुई हजारदेखि बढी जरिवाना हुने गरेको छ । त्यसरी प्रयोग गर्दा मिटरमा युनिट नदेखिने हुनाले विद्युत्लाई राजश्वमा घाटा लाग्ने गरेको छ ।