मुख्यमन्त्री राउत र महन्थ ठाकुरले मधेश अलग देश हुनसक्ने भन्दै दिए यस्तो चेतावनी

जनकपुरधाम, ३ असोज । नयाँ संविधान जारी भएको दिनलाई ठूलो तामझामका साथ मनाइरहँदा यसको विरोधमा पनि चर्का आवाज उठेका छन् । राजधानीमै कालो जुलुस निकालिएको छ भने नयाँ संविधानको विरोधमा आवाज उठाउँदै आएको दुई नम्बर प्रदेशमा देश नै अलग हुनसक्ने नारा लागेको छ । संविधान दिवसकै दिन दुई नम्बर प्रदेशका मुख्यमन्त्री र दुई नम्बर प्रदेशमा दोस्रो ठूलो दलका रुपमा रहेको राष्ट्रिय जनता दलका नेता महन्थ ठाकुरले मधेश टुक्रनसक्ने चेतावनी दिएका हुन् ।

जनकपुरमा मधेशका एक चर्चित नेताले यही संविधानकै कारण देश अलग हुनसक्ने चेतावनी दिएका छन् । राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरले संविधान संशोधन नगरे मधेश अलग हुने चेतावनी दिएका हुन् । त्यसैगरी दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालवावु राउतले पनि संविधान संशोधन नगरे केन्द्र सरकारले ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

शुक्रवार जनकपुरमा आयोजना गरिएको एक कार्यक्रममा नेता ठाकुरले आफूहरुले संविधान संशोधन गर्नुपर्ने आवाजा उठाउँदै आएको भए पनि सरकारले त्यसलाई नसुनेको आरोप लगाए । उनले अब पनि संविधान संशोधन गरिएन भने मधेश अब अलग देश हुनसक्ने बताए ।

नेता ठाकुरले मधेशको हक अधिकारका लागि राज्यले बेवास्ता गर्दै आएको आरोप लगाउँदै सरकारलाई सचेत र गम्भिर हुन चेतावनी दिए । उनले भने, ‘मधेशी, थारु, आदिवासी जनजातिका अधिकार खोसिएका छन् । अहिलेको संविधान हाम्रो होइन, यस्तै रहेमा हामी मधेशलाई अलग देश पनि बनाउन सक्छौँ ।

त्यसैगरी कार्यक्रममा बोल्दै दुई नम्बर प्रदेश सरकारका मुख्य मन्त्री लालबाबु राउतले वर्तमान संविधान मधेशी, उत्पीडित, दलित, महिला,मुस्लिम लगायतलाई समावेश नगरेकाले सर्वस्वीकार्य नरहेको दावी गरे । उनले यो संविधानलाई सर्वस्वीकृत संविधान बनाउन हरेक वर्गको भावना समेट्दै संविधान संशोधन गर्नुपर्ने अपरिहार्य रहेको बताए ।

मुख्यमन्त्री राउतले पनि समयमै संविधान संशोधन नगरे केन्द्र सरकारले ठुलै मूल्य चुकाउने चेतावनी दिए । मुख्यमन्त्री लालबाबु राउत संविधान दिवसका अवसरमा आफैले घोषणा गरेको कार्यक्रम छोडेर गैरसरकारी संस्थाले गरेको संविधानविरोधी कार्यक्रम गएका थिए । नेपालको संविधान २०७२ मा जनताको अवधारणाः राष्ट्रिय बहस र मन्थन विषयक कार्यक्रममा उनीहरुले यस्तो अभिव्यक्ति दिएका हुन् ।

Loading...