कालो टिसर्ट र कालै ब्यानरमा असोज तीन, कालो दिन भन्दै निस्कियो जुलुस

काठमाडौं, ३ असोज । नयाँ संविधान जारी भएको आजको दिन अर्थात असोज ३ लाई सरकारले भव्य रुपमा मनाइरहँदा काठमाडौंमा यो दिनलाई कालो दिन भन्दै कालो टिसर्टधारीहरुले जुलुस निकालेका छन् ।

बाक्लो सुरक्षा व्यवस्था गरिएको देशको राजधानीको मध्य मुटु वसन्तपुरदेखि इन्द्रचोक, असन क्षेत्रमा ठूलो जुलुस निकालेर ‘असोज तीन, कालो दिन’ भन्ने नारा लगाइएको हो । यसले वर्तमान संविधानप्रतिको असहमति बढ्दै गएको देखाएको छ । शुक्रबार आदिवासी जनजाति, मधेसी, दलित, थारु समुदायका विभिन्न संघसंस्थाले यस्तो विरोध प्रदर्शन गरेका हुन् । वसन्तपुर वरिपरि जुलुस र नारावाजी लगाउँदै उक्त विरोध प्रदर्शनपछि वसन्तपुरमै कोणसभा पनि गरिएको छ ।

कालो टिसर्टमा आएकाहरुले कालै ब्यानरमा यो जुलुस लगाएका हुन । जुलुसपछि आयोजना गरिएको कोणसभामा बोल्नेहरुले यो संविधानले आदिवासी जनजातिको हक अधिकारको संरक्षण नगरेको दावी गरे । उनीहरुले सरकारले आफूहरुको अधिकार ग्यारेन्टी हुने गरी संविधान संशोधन गर्न पनि अस्वीकार गरेको आरोप लगाए । साथै उनीहरुले यो संविधान अपुरो रहेको, जनविरोधी रहेको र प्रतिगामी रहेको भन्दै यसलाई कदापी स्वीकार गर्न नसकिने बताए ।

यसैबीच संविधानको विरोधमा जुलुस निकालेको र संविधान जलाउन खोजेको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई वसन्तपुर क्षेत्रबाटै पक्राउ गरेको हो । पक्राउ पर्नेमा संघीय लोकतान्त्रिक मञ्चका महासचिव यलम्बर खम्बु, कुलदेव अस्‍लामी र सीताराम थारु रहेको प्रहरीले जनाएको छ ।

उता सरकारले आज खुल्ला मञ्चमा संविधान दिवस मनाएको छ । साथै देशभर प्रदेश सरकार र स्थानीय सरकारहरुले पनि विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका छन् । सरकारले आजको दिन अर्थात संविधान दिवसका अवसरमा सार्वजनिक विदा दिए पनि सबै सरकारी कर्मचारीहरुलाई अनिवार्य रुपमा संविधान दिवस मनाउन खुला मञ्चमा उपस्थित हुन ह्वीप जारी गरेको थियो । स्रोतका अनुसार प्राय धेरैजसो कार्यालयले आफ्ना कर्मचारीहरुको हाजिरी बुक समेत बनाएर खुल्ला मञ्चमा राखेका थिए । संविधान दिवस मनाउने कार्यक्रममा उपस्थित नभए कारवाहीसम्म गर्ने चेतावनी दिइएका कारण आज सबै कर्मचारी खुलामञ्चमा पुगेका थिए ।

Loading...