भेषराज बस्नेत
राँझा, २ असोज । राँझा, २ असोज बाँकेमा सञ्चालित सामुदायिक घरबासले गाउँघरमै रोजगारीका अवसर सिर्जना गरिदिएको छ । विसं २०७० मा शुरु भएको गाभर भ्याली सामुदायिक घरबास अहिले नेपालकै नमूना घरबासका रुपमा चिनिन्छ ।
गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्ण चौधरीका अनुसार अहिले बाँकेमा तीन वटा सामुदायिक घरबास सञ्चालित छन् । चार वटा निजी घरबास पनि सञ्चालनमा छ । बैजनाथ–१ मा अवस्थित बाँकेको पहिलो सामुदायिक गाभरभ्याली घरबासमा १७ घर, राप्तीसोनारी गाउँपालिका ८ ढकेरीस्थित नयाँगाउँ घरबासमा ११ घर र कोहलपुरको खडकवार नमूना सामुदायिक घरवासमा ७ घर आवद्ध रहेका छन् ।
बाँकेको गाभरमै तीन वटा निजी घरबास रहेका छन् भने एउटा खजुरा गाउँपालिकामा मामा घरबास सञ्चालित छ । प्रत्येक घरका कम्तीमा पाँचजना व्यक्ति घरबासमा प्रत्यक्षतः संलग्न रहिआएका छन् । घरमै रोजगार भएपछि कामको खोजिमा घर छोड्नु पर्ने अवस्थाको अन्त्य भएको चौधरीले बताए ।
गाभर भ्याली घरबासमा शुरूका दिनमा २० ÷३० हजारबाट व्यवसाय शुरू गरेपनि अहिले कुनै घरले २० लाख र कुनैले ५० लाख रुपैयाँसम्म लगानी गरेको अध्यक्ष चौधरी बताउछन ।
होमस्टे एशोसियशन नेपाल ५ नम्बर प्रदेशका सचिवसमेत रहनुभएका गाभरभ्याली घरबासका सञ्चालक चौधरीले भने – “हामीले केवल जीविकोपार्जनका लागि मात्र नभई नेपालमै पहिलोपटक आयआर्जन, संस्कृतिको प्रवद्र्धन, प्रकृतिको संरक्षण र बाघ पर्यटनको अवधारणा अघि सारेका छौँ । यस्ता सवाल उठान गर्ने गाभर भ्याली एउटा होमस्टे मात्रै नभई देशकै आन्तरिक पर्यटन प्रवद्र्धनको अगुवा बनेको छ र पर्यटन उद्योगमा नयाँ आयामको शुरुआत गर्ने यो एक स्थल हो ।” गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक हैसियत मै उल्लेख्य परिवर्तन आएको छ ।’
गाभर भ्याली सामुदायिक घरबासका सदस्य अनिलकुमार थापाले घरबास स्थानीय बासिन्दाको अतिरिक्त आम्दानीको स्रोत बनेको बताउछन ।
उनले भने – “गाउँमा होमस्टे सञ्चालन हुँदा होमस्टे भएका घरले मात्रै नभएर सम्पूर्ण गाउँलेलाई नै लाभ पुगेको छ । यसले गर्दा कुखुरा, तरकारी, दही, दूध लगायतको व्यापार बढेको छ । स्थानीय हाते उत्पादनका सामग्रीको बजार पनि बढेको छ । सबैभन्दा ठूलो सचेतना त के भने गाउँमा पाहुना आउँछन् भनेपछि गाउँ नै सफासुग्घर भएको छ ।”
विगतमा घरबास सञ्चालन नहुँदा घरखर्च जुटाउन मुश्किल हुने तर, अहिले त्यो स्थिति नरहेको नयाँ गाउँ घरबास सञ्चालक समितिका अध्यक्ष टीका चौधरीले बताइन ।
बाँकेमा सञ्चालित घरबासमा आन्तरिक पर्यटकको चाप धेरै नै छ । सस्तो र ताजा खाना खान पाउने भएपछि शहरका होटल छोडेर पाहुनाहरु आफूकहाँ आउने गरेको नयाँ गाउँ घरबास सञ्चालक समितिका अध्यक्ष चौधरी बताउछन ।
“विदेशीभन्दा स्वदेशी पर्यटकको चाप धेरै छ, पछिल्लो समय नेपाली व्यापारीहरुसमेत होमस्टेमा आउने संस्कारको विकास भएको छ,” चौधरीले भने – “शहरको कोलाहलभन्दा पाहुनाहरु गाउँको शान्त वातावरण र खानपान मन पराउँछन् ।”
उहाँका अनुसार शुरुमा घरवास चल्छ कि चल्दैन भन्ने चिन्ता थियो तर, अहिले पाहुनाको रोजाइको पहिलो गन्तव्य घरबास बन्न पुगेपछि गाउँकै पहिचान बदलिएको छ ।
बाँकेमा सञ्चालित घरबासका कारण ग्रामीण पर्यटन प्रवद्र्धन भएको गाभर भ्याली सामुदायिक घरबासका अध्यक्ष चौधरीले बताए । उनका अनुसार छ वर्ष अगाडि स्थापना भएको यो घरबासले अपेक्षाभन्दा बढी लाभ लिन सफल भएको छ । समुदायको दिगो आयआर्जनका माध्यम घरबास बनेको छ । गाउँमा हस्तकलाका सामग्री निर्माण गर्ने, युवालाई विभिन्न पर्यटकीय तालीम दिने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने काम पनि घरबासले गरेको छ । गाभर भ्यालीमा थारुसहित मुगुको राराबाट स्थानान्तरण भइआएका मुगेलीहरु छन् । यसबाट पनि धेरै समुदायको जमघट हुने थलो बनेको छ गाभर भ्याली ।
एक घरबाट शुरु भएको यहाँको घरबास अहिले १७ घरमा फैलिएको छ र अझै केही थपिँदै छ ।
होमस्ट एशोसिएशनका केन्द्रीय सदस्य पूर्णचन्द्र उपाध्यायले सरकारले घरबासलाई व्यवस्थित बनाउन मापदण्ड तोकिदिएपछि ग्रामीण जनतालाई पर्यटकको स्वागत गरी आम्दानी गर्ने बाटो खुलेको बताउछन ।
उपाध्यायले भने – ठूलो सङ्ख्यामा पर्यटक भित्रिए शहरमा अट्ने पूर्वाधार नभएकाले गाउँ पु¥याएर रोजगार बढाउन होमस्टेको अवधारणा ल्याइएको हो । होमस्टे सामूहिक तथा निजी हिसाबले पर्यटकलाई खाने–बस्ने प्रबन्ध मिलाउने माध्यम हो ।”
‘बाघ पर्यटन’ को प्रवद्र्धन
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सञ्चालित गाभर भ्याली सामुदायिक घरबास र नयाँ गाउँ घरबासले बाघ पर्यटनको प्रवद्र्धनमा सहयोग पु¥याउँदै आएका छन् ।
दुवै होमस्टे जिल्लाको प्रमुख पर्यटकीय गन्तव्य बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएकाले बाघ पर्यटन प्रवद्र्धनलाई मुख्य एजेन्डा बनाएर काम गरिरहेको होमस्टे एशोसियशन नेपाल ५ नं प्रदेशका सचिवसमेत रहनुभएका चौधरीले बताए ।
नेपालगञ्जबाट करीब २५ किलोमिटरको दूरीमा रहेका दुबै घरबासको बास होटलभन्दा निकै सस्तो छ । बारीमै फलेका ताजा तरकारी र फलफूल पनि सस्तो दरमा खान पाइन्छ, बाघ पनि हेर्न पाइन्छ । घरवासमा हिमाली फापरको रोटी, कोदोको ढिँडा, सिमीको दाल र थारू समुदायको सिद्रा, ढिक्री, घोंघी, गङ्गटा, परेवाको मासु, झिङ्गे माछा, अनदीको रोटी, फुलौरी पाइने चौधरी बताउछन ।
घरबासको सञ्चालनले गाउँमै उत्पादन भएका खाद्यान्न, सागपात, दही, दूध खाने र गाउँका कला संस्कृति हेर्ने परम्परा बसेको मात्र नभै आर्थिक गतिविधि पनि बढाएको छ ।
सरकारले अगाडि सारेको सुखी नेपाली समृद्ध नेपालको नारा एवं आर्थिसामाजिक परिवर्तनको लक्ष्यलाई छोटो समयमा नै पूरा गर्न घरबासले सहयोग गरेको होमस्टे एशोसिएशनका अध्यक्ष भीम केसी बताउछन ।