बाटो नदेखेपछि हराएका दुई हेलिकोप्टर खोला किनारमा यसरी गरिए फोर्स ल्याण्डिङ (फोटो फिचर)

काभ्रे । मंगलबार परेको अविरल वर्षाले हवाइ उडानमा ठूलो असर पारेको छ । अविरल वर्षाले हवाइ भिजिबिलिटी कम भएपछि दुई वटा हेलिकोप्टर दुर्घटनाबाट धन्न जोगिएका छन् । भिजिबिलिटी कम भएपछि दुई हेलिकोप्टरलाई काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरिएको छ । 

पाँचखालको जोरपाटी वार्ड नं. ३ जोरपाटी धोविखोला किनारमा दुई हेलिकोप्टर जवरजस्त आकस्मिक अवतरण गरिएको हो । खोला किनारमा रहेको धानका खेतमा एकाबिहानै हेलिकोप्टर बसालिएपछि वरिपरिका जनता त्रसित भएका थिए । 

गाउँलेहरु बिहान करिब ८ बजेका बेला निकै तलबाट उडेको देखेपछि होहल्ला गरेका थिए । गाउँलेले हेर्दा हेर्दै एकाएक हेलिकोप्टर खोला किनारका खेतमा ल्याण्ड गरिएपछि सुरुमा दुर्घटना भएको हो कि भन्ने ठानेका थिए । हेलिकोप्टरले यात्रुसहित खेतमा ल्याण्ड गरेको गाउँलेले बताए ।

सुरुमा दुर्घटना भएको हो कि भन्ने ठानेका गाउँलेले पाईलटले ढोका खोलि हतारिदै निस्केको देखेपछि उद्धार गर्न गइपुगेका थिए । साथै स्कूले बालबालिकाहरु पनि हेलिकाेप्टर हेर्न गइपुगेका थिए । पहिलो हेलिकोप्टरले आकस्मिक ल्याण्ड गरेको केहीबेरमै अर्को हेलिकोप्टर आकाशमा त्यसैगरी आएको थियो । त्यसपछि उक्त हेलिकोप्टर पनि पहिलो हेलिकोप्टर फोर्स ल्याण्ड गरिएको ठाउँमै आएको थियो ।

गाउँलेहरुले हेलिकप्टरमा रहेका विदेशी र स्वदेशी यात्रु रहेको थाहा पाए । विदेशी र स्वदेशी यात्रु पाइलटसँगै हतारहतार खेतमा निस्किएका थिए । दिउसो ३ बजेसम्म रहेका थिए । पाइलट र यात्रुलाई स्थानीयले खानाको व्यवस्था गरेका थिए ।