कृषिको बजारीकणका लागि किसान बजार

पोखरा, ३१ भदौ । कृषि उत्पादन वृद्धि गर्ने र बजारको उचित व्यवस्थापन गर्ने लक्षयका साथ पोखरा महानगरपालिका–१७ विरौटाचोकमा आजदेखि किसान बजार सञ्चालनमा ल्याइएको छ । कृषि विकास कार्यालयको स्वामित्वमा रहेको र कृषि सामग्री संस्थान तथा खाद्य संस्थानले भोगचलन गर्दै आएका जग्गामा २४ वटा व्यापारिक कक्षसहित बजार सञ्चालनमा ल्याइएको हो ।

महानगरमा पहिलो पटक सञ्चालनमा ल्याइएको सो संरचना निर्माणका लागि पोखारा महानगरपालिकाले रु दश लाख उपलब्ध गराएको थियो ।
महानगरप्रमुख मानबहादुर जिसीले कृषिको उत्पादन र बजारीकरणलाई जोडने लक्षयका साथ यस्तो बजार सञ्चालनमा ल्याइएको बताउँदै यसबाट उत्पादक र उपभोक्ता दुवै लाभान्वित हुने विश्वास व्यक्त गरे ।

बजारको भरपुर उपयोग गरी किसानलाई प्रोत्साहन गर्न उपभोक्तालाई आग्रह गर्दै उनले प्राङ्गारिक उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गरे । महानगर कृषि तथा पशुविकास महाशाखाका प्रमुख मनोहर कडरियाले महानगरपालिकाका– विभिन्न पाँच स्थानमा बजार स्थापन गरिने योजना रहेको जानकारी दिँदै त्यसका लागि रु एक करोड विनियोजन गरिएको छ भने ।

बिहान ६ बजेदेखि १० बजेसम्म सञ्चालनमा आउने उक्त बजारमा दूधजन्य पदार्थका साथै बिरुवा, तरकारी, खाद्यान्नलगायत ग्रामीण क्षेत्रमा उत्पादित सामान बिक्री वितरण गरिने बजार व्यवस्थापन समितिका संयोजक चुडामणि बरालले जानकारी दिए ।

Loading...