बेलायती प्रधानमन्त्री र इयु अध्यक्षबीच ब्रेजिक्ट वार्ता तीव्र पार्ने सहमति

लण्डन, ३० भदौ । बेलायती प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघका अध्यक्ष जेन क्लाउड यङ्करबीच ब्रेजिक्ट वार्ता तीव्र पार्ने सहमति भएको छ ।

बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले सोमबार दिएको जानकारी अनुसार उहाँहरूले दैनिक वार्ता गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । प्रधानमन्त्रीको कार्यालयले भनेको छ, “ब्रेजिक्टसम्वन्धी छलफललाई तीव्रताका साथ अगाडि बढाउनु पर्ने र त्यसका लागि दैनिक छलफल गर्नुपर्नेमा नेताहरु सहमत हुनुभएको छ ।”

लक्जेम्वर्गमा दुई नेताहरूको प्रत्यक्ष भेटवार्तापछि प्रधानमन्त्री कार्यालयले उहाँहरूको भेटवार्ताका बारेमा जानकारी दिएको हो । प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले जारी गरेको वक्तव्यमा जोनसन र यङ्करकोे बैठक “सकारात्मक” भएको उल्लेख गरिएको छ । बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयका विभिन्न पक्षका बारेमा उहाँहरूले छलफल गर्नुभएको कार्यालयले जनाएको छ ।

ब्रेक्जिटका विषयमा आफू प्रधानमन्त्री भएपछि जारी राखेको अभियानको पछिल्लो प्रयासस्वरुप जोनसनले सोमबार यो महत्वपूर्ण भेटवार्ता गर्नु भएको हो । जोनसनको यो भेटलाई कतिपयले परामर्श बैठकका रूपमा पनि लिएका छन् । उक्त भेटमा आफूहरूले के कसरी काम गरिरहेका छौँ र आगामी दिनमा त्यसले के कस्तो परिणाम दिन सक्छ भन्ने बारेमा बेलायतका प्रधानमन्त्री जोनसनले अध्यक्ष यङ्करलाई जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री जोनसनले केही दिनअघि एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभएको थियो, “म यस काममा आशावादी छु, मलाई लाग्छ बेलायत युरोपियन युनियनबाट बाहिरिनेछ, हामीले तय गरेको समय आगामी अक्टोबर ३१ सम्ममा हामी बाहिरिने नै छौँ ।”

युरोपियन युनियनको संसद्ले भने आगामी हप्ता यस विषयमा मतदान गराउने तयारी गरेको छ । यसैबीचमा प्रधानमन्त्री जोनसनले पनि हाउस अफ कमन्सबाट आफ्नो मतको पक्षमा जनमत लिन सक्नुपर्नेछ । बेलायतको संसद्मा अधिकाश सांसद बे्रक्जिटको विपक्षमा रहेकाले उहाँको पक्षमा जनमत आउने संभावना न्युन देखिएको छ

बेलायत र युरोपका सञ्चारमाध्यमहरूले प्रधानमन्त्री जोनसनलाई बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्ने काम काम पूरा गर्न निकै कठिन देखिएको उल्लेख गरेका छन् ।