एमबिबिएएस लगायत चिकित्सा शिक्षाका स्थगित स्नातक कार्यक्रमको प्रवेश परीक्षा हुने मिति तय

स्थगित गरिएको चिकित्सा शिक्षा अन्तर्गतको स्नातक तहको प्रवेश परीक्षा हुने मिति तय भएको छ । चिकित्सा शिक्षा अध्ययन संस्थानले एक निर्णय गर्दै प्रवेश परीक्षाको मिति तय गरेको हो ।

संस्थानको सोमवार बसेको स्नातक तह प्रवेश परीक्षा सञ्चालक समितिको बैठकले प्रवेश परीक्षाको मिति तय गरेको जानकारी प्राप्त भएको छ । चिकित्सा शिक्षा अन्तर्गतका एमबिबिएस, बिडिएस लगायतको रोकिएको प्रवेश परीक्षाको नयाँ मिति तय भएको हो ।

प्राप्त सूचना अनुसार विभिन्न फ्याकल्टीको प्रवेश परीक्षा विभिन्न मितिमा आगामी असोज ३, ५, ६ र ७ गते हुने बताइएको छ ।

यसअघि ती परीक्षा यही भदौ २१, २२ , २३ र २४ गतेलाई तय गरिएका थिए । छात्रवृत्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले भदौ २० गते अन्तरिम आदेश जारी गर्दै प्रवेश परीक्षा रोकेपछि उक्त परीक्षा स्थगित हुँदै आएको थियो ।

आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले तत्काल प्रवेश परीक्षा र्नै रोक्नुपर्ने अवस्था नरहेको आदेश दिएपछि प्रवेश परीक्षा लिन बाटो खुलेको हो ।

एमबिबिएसमा मात्र २२ कलेज गरी करिब १८ हजार परीक्षार्थी प्रवेश परीक्षामा सामेल हुने छन् ।

हेर्नुस सूचना