रोल्पाको थवाङमा पहिरोले लग्यो ६ जनाको ज्यान

रोल्पाको विकट गाउँ थवाङमा पहिरोमा पुरिएर ६ जनाको ज्यान गएको छ । रोल्पा जिल्लाको थवाङ गाउँपालिका–२, छेर्लवाङमा उक्त हताहती भएको हो ।

पहिरोमा पुरिएर थवाङ–२, छेर्लवाङका २८ वर्षीय शिरकुमारी बुढा, उहाँका चार वर्षीय छोरा असल बुढा, ३८ वर्षीय जय बुढा, ३६ वर्षीय मूलज्योति बुढा, नौ वर्षीय देवस्थी बुढा र दुई वर्षीया करिश्मा बुढाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला सदरमुकाम लिवाङबाट ७० किलोमिटर उत्तरमा उक्त गाउँमा बिहिवार गएको पहिरोमा परि दुई परिवारका ६ सदस्यको ज्यान गएको हो ।

दुईतले घरलाई पहिरोले पुरेपछि माथिल्लो तला र तल्लो तलामा सुतिरहेका ६ जना पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । पहिरोले घरमा रहेका चौपाया पनि पुरिएको बताइएको छ ।

थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरले पहिरोल्र पुरिएको घर एकान्तमा रहेकोले स्थानीयले ढिला गरि थाहाँ पाएको बताए । उनका अनुसार अविरल वर्षाका कारण पहिरो गएको थियो । अध्यक्ष घर्तीमगरले गाउँपालिकाले यस्ता घटना दोहोरिन नदिन पहिरो रोक्ने दीर्घकालीन योजना बनाउने दावी गरे ।

Loading...