विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा

गुलरिया, २७ भदौ । जिल्ला प्रहरी कार्यालय बर्दियामा नेत्रबिक्रम चन्द समूहका इन्चार्जसहित दुई नेताविरुद्ध आज विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।

सो समूहका जिल्ला इन्चार्ज अछामको पञ्चविनायक नगरपालिका–४ की ३८ वर्षीया मीनादेवी चलाउने धामी र विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष कैलालीको जोशीपुर गाउँपालिका–१ का २३ वर्षीय लोकेन्द्र जोशीविरुद्ध प्रहरीले विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।

प्रहरीले बिहीबार साँझ दुवैलाई गिरफ्तार गरेको छ । जिल्लाका विभिन्न विद्यालयमा सङ्गठन विस्तार अभियान चलाएर फर्कँदै गर्दा बाँसगढी नपा–९ माछागढबाट दुवैलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए । जिल्लामा विभिन्न ठाउँमा बम विष्फोट र विष्फोटक पदार्थ राख्ने घटनामा संलग्नता रहेको प्रहरीको आरोप छ ।

Loading...