संयुक्त राष्ट्रसंघले एलसाल्भाडोरमा मिसन पठाउने

संयुक्त राष्ट्रसंघ, २७ भदौ । संयुक्त राष्ट्रसंघले एल साल्भाडोरमा अनुगमन मिसन खटाउने भएको छ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले सो जानकारी दिए । एल साल्भाडोरको सरकारले त्यस देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गरेको छ । सो अभियानलाई सहयोग गर्न संयुक्त राष्ट्रसंघले उक्त अनुगमन समूह त्यहाँ पठाउन लागेको हो ।

मध्य अमेरिकी देश एल साल्भाडोरले आफूले चालेको भ्रष्टाचारविरोधी अभियानलाई सघाउन र त्यहाँको दण्डहीनताको अवस्थाको निराकरण गर्नका लागि सो मिसनको खटाइदिन आग्रह गरेको थियो । सोही आग्रहबमोजिम नै उक्त मिसन पठाउन लागिएको महासचिव एन्टोनियो गुटरेसले सो जानकारी दिए । यो अन्तर्राष्ट्रिय स्तरको र मान्यताप्राप्त मिसन हुने बताइएको छ ।

पत्रकार सम्मेलनका क्रममा महासचिव गुटरेसले सो मिसन पठाउन लागेको जानकारी दिए । उनले एल साल्भाडोरको सरकारले गरेको अनुरोधका कारण त्यहाँ मिसन पठाउन लागिएको बताए ।  उनले बिहीबार मात्र एल साल्भाडोरका उपराष्ट्रपति फेलिक्स उल्लोआसँग भेटवार्ता गरेका थिए । सो भेटपछि एल साल्भाडोर सरकारले अघि सारेको अभियानलाई सघाउन राष्ट्रसंघका प्राविधिक व्यक्तिहरु सम्मिलित उक्त मिसन पठाइने भएको हो ।

उक्त देशका छिमेकी देशहरु ग्वाटेमाला र होन्डुरसमा पनि यसअघि देखि नै संयुक्त राष्ट्रसंघका मिसनहरु राखिएको छ । त्यस्तै खालको अन्तर्राष्ट्रिय मिसन स्थापना गरिदिन उक्त देशले राष्ट्रसंघलाई अनुरोध गर्दै आएको थियो ।
तर ग्वाटेमालामा भने यही सेप्टेम्बर ३ देखि राष्ट्रुसंघीय मिसनको अन्त्य भएको बताइएको छ ।

Loading...