कपिलवस्तु, २३ भदौ । वाणगंगा नगरपालिकाका दुई शिक्षक शिक्षण पेशा छाडी तरकारी खेतीमा लागेका छन् ।
तीन वर्ष एउटै निजी विद्यालयमा शिक्षण पेशा अँगालेका वाणगंगा–७ वनगाईका विष्णु पौडेल र ३ झुँगाका भाष्कर पँगेनी अहिले तरकारी खेतीमा रमाएका छन् । शिक्षण पेशामा भन्दा तरकारी खेतीमा मनग्य आम्दानी हुन थालेपछि उनीहरू तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
वाणगंगा–३ झुँगाका ठाकुर ढकाल र राजमणिको दुई बिघा जमिन वार्षिक रु ७५ हजार तिर्ने गरी उनीहरूले भाडामा लिई व्यावसायिक तरकारी खेती शुरु गरेका हुन् । लौका, घिरौँला, भिन्डी, बोडी, काँक्रा बिक्री गरी चार महिनामै रु एक लाख ५० हजार आम्दानी भएको छ ।
“शिक्षण पेशाभन्दा तरकारी खेतीबाट खुसी मिलेको छ,” पौडेलले भने । उनीहरूले १६ कट्ठामा लौका, बोडी, काँक्रा तथा १४ कट्ठामा भन्टा, फर्सी, खुर्सानी लगाएका छन् । करिब रु ८० हजारको लागतमा तरकारी खेती शुरु गर्नुभएका पौडेल र पँगेनीले मासिक दश हजार ज्याला दिई सहयोगीसमेत राखेका छन् ।
लौका प्रतिकलो रु २०, बोडी रु ८०, भन्टा रु ३०, काँक्रा र घिरौँला रु ३५ का दरले बजारमा पु¥याई बिक्री गर्ने गरेका पँगेनीले बताए । अहिलेसम्म पाँच लाखभन्दा बढी लगानी गरेको उनले बताए । उनीहरू कामदार नपाएर चिन्तित बनेका छन् । कामदार अभावले १० कट्ठामा धानबाली लगाएका छन् ।