इन्द्रजात्रा प्रारम्भ, विधिवत रुपमा य:सिं ठड्याइयो (भिडियो सहित)

काठमाडौँ, २४ भदौ । राष्ट्रिय पर्वको रुपमा मानिदै आएको इन्द्रजात्रा आजबाट प्रारम्भ भएको छ । मंगलबार बिहान ९ः१५ को शुभसाइतमा काठमाडौँ वसन्तपुरस्थित हनुमानढोका दरवार कालभैरव अगाडि विधिवत रुपमा यःसिं (इन्द्र ध्वजा) ठड्याइएसँगै यस वर्षको इन्द्रजात्रा शुभारम्भ भएको हो ।


इन्द्रजात्रा काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाउने गरिन्छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने गरिन्छ । यसलाई येँया पुन्हि पनि भनिन्छ। विशेष गरेर काठमाडौं उपत्यकामा भाद्र शुल्क द्वादशीका दिनदेखि ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक शुरुवात इन्द्रधजा स्वरुप लिंगो ठड्याएर गरिन्छ । जसलाई नेवार भाषामा यः सिं भनिन्छ । नेपाल भाषामा ‘यःसिं’ भनिने उक्त लिंगोमा मंगल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ। उक्त लिंगो ठड्याएपछि फेंदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउने गरिन्छ । उपत्यकासंगै देश बिदेशका अन्य विभिन्न स्थानमा नेवार समुदायले मान्ने परम्परा बढ्दै गएको छ ।