एटिएम मेसिनमा घुसेर मुसाले १२ लाख भन्दा बढी नोट टुक्रा–टुक्रा पारे

एजेन्सी। एटिएम मेसिनमा घुसेका मुसाले त्यसमा रहेका १२ लाख भारु भन्दा बढी पैसा टुक्रा टुक्रा पारेका छन् । लामो समय देखि बिग्रेर बसेको एटिएम मेसिनमा मुसाले यस्तो चर्तिकला गरेका हुन् । बिग्रिएको एटिएम मेसिन बनाउन पुगेका प्राविधिक टोलिले मेसिन खोलेर हेर्दा यस्तो देखेका थिए । अहिले सो घटना सोशल मिडियामा भाइरल बनेको छ ।

सार्वजनिक भएको उक्त भिडियोमा मुसाहरुको समूहले एटीएममा घुसेर लाखौँ रुपैयाँ काटेको देखाइएको छ । यो घटना भारतको पूर्वोत्तर राज्य आसामको तिनसुकियाको रहेको छ । जहाँ एउटा एटीएम बिग्रेपछि जाँच गर्न खटाइएका प्राविधिकहरूले उक्त एटीएम खोलेपछि उनीहरू छक्क परे ।

आसामको स्टेट बैंक अफ इन्डिया एसबीआई को एटीएममा मुसाहरुको समूहले काटेको १२ लाख भन्दा बढी भारु नोटहरु टुक्रा–टुक्रा अवस्थामा भेटिएका थिए । एटीएममा सबै नोटहरु २ हजार र ५ सय दरका रहेका थिए । उक्त एटीएम प्राविधिक खराबीका कारण २० मे देखि बन्द थियो भने भने ११ जुनमा प्राविधिकहरु जब एटीएम मेसिन बनाउन पुगे तब मात्र त्यहाँ भएको सबै नोटहरु काटिएको अवस्थामा फेला परेका थिए ।

एसबीआई बैंकका अधिकारीहरुका अनुसार १२ लाख ३८ हजार भारु नोटहरु नष्ट भएका छन् । त्यहाँ केबल १७ लाख मूल्यका नोटहरु मात्र सकूशल पाइएको बताइएको छ । १९ मे मा २९ लाख रुपैयाँ जम्मा गरिएको बताइएको छ । तार लैजान पारिएको एउटा प्वालबाट मुसाहरू छिरेको अनुमान प्रहरीको छ । मुसाले काटेका नोटको थुप्रोका तस्बिरहरू धेरैले सामाजिक सञ्जालमा हालेका छन् । त्यस्तै एउटा तस्बिरमा एउटा मरेको मुसो फोहोरको खातमा पल्टेको देखिन्छ ।

Loading...