व्यास नगरपालिकाको पाश्र्वचित्र तयार

दमौली, २३ भदौ । तनहुँको व्यास नगरपालिकाको विकासको विद्यमान अवस्था, सम्भावना र स्रोतका सम्बन्धमा आवश्यक सूचना व्यवस्थापन गर्न पाश्र्वचित्र तयार पारिएको छ । नगरपालिकाको भौगोलिक, सामाजिक, आर्थिक, पूर्वाधारलगायत क्षेत्रको विद्यमान स्थिति झल्काउन पाश्र्वचित्र तयार गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको जनसाङ्ख्यिक, भू–जैविक, भौतिक, मानवीय, आर्थिक, सामाजिक, वातावरण र संस्थागत क्षेत्रको विषयगत र वस्तुगत स्थिति चित्रण हुने गरी वस्तुगत विश्लेषण विवरणसहितको पाश्र्वचित्र तयार गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए ।

एकाउण्टीबिलिटी इनिसियटिभ काठमाडौँको प्राविधिक सहयोगमा निर्माण गरिएको पाश्र्वचित्रमा नगरपालिकाको धार्मिक एवं ऐतिहासिक पृष्ठभूमि, राजनीतिक एवं प्रशासनिक अवस्था, भौगोलिक अवस्थिति, भूउपयोग, संस्कृति, पर्यटनलगायतका क्षेत्र समावेश गरिएको छ ।

“पाश्र्वचित्रमा आवश्यक सूचना तथा तथ्याङ्क व्यवस्थित रुपमा पस्तुत गर्ने प्रयास गरिएको छ”, प्रमुख प्रशासकीय अधिकृत पन्तले भने, “यो दस्तावेज व्यास नगरपालिकाको बारेमा जानकारी लिन चाहने सबैका लागि उपयोगी हुनेछ र नगरको विकास योजना बनाउन आधारस्तम्भको रुपमा रहनेछ ।”

पन्तका अनुसार स्थानीय सरकारको सेवा प्रवाहमा चुस्तता र विकास प्रक्रियालाई यथोचित गति प्रदान गर्न खण्डिकृत र क्षेत्रगत सूचनासहितको नगर वस्तुगत विवरण जरुरी हुन्छ । “सरकारले गाउँ तथा नगर क्षेत्रको समग्र वस्तुस्थिति झल्किने वस्तुगत विवरणको ढाँचा तयार गर्न पत्राचार गरेको थियो”, उनले भने, “वस्तुगत विवरणले स्थानीय तहमा तर्जुमा हुने योजनाका लागि सूचनाको आधार तयार गर्न महत्वपूर्ण हुन्छ ।”

कूल चौध वडा रहेको नगरपालिकामा २३५ टोल छन् । पूर्वमा भानु नगरपालिका र बन्दीपुर गाउँपालिका, पश्चिममा शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिका, उत्तरमा कास्की र लमजुङ जिल्ला तथा दक्षिणमा रिसिङ्ग र देवघाट गाउँपालिका पर्दछ । नगरपालिकामा विभिन्न जातजातिका मानिस बसोबास गर्दै आइरहेका छन् । सबै जातिहरुले आफ्नो संस्कृतिअनुरुप चाडपर्व एवं वेषभूषालाई विशेष महत्व दिएर उत्साहका साथ मनाउँदै आइरहेका छन् ।

Loading...