भिरबाट खसाएर गाई मारेको अभियोगमा प्रहरीका इन्स्पेक्टर पक्राउ

काठमाडौं । बाँकेका छाडा गाई दैलेख लाने बहानामा सुर्खेतमा हत्या गरिएको प्रकरणमा नेपाल प्रहरीका इन्स्पेक्टर पक्राउ परेका छन् ।

सुर्खेत प्रहरीले नेपालगञ्ज नगर प्रहरी कार्यालयका निरीक्षक सूर्य बोगटीलाई शुक्रबार पक्राउ गरेको हो । उनीसँगै चितवन ट्रान्सपोर्टका सञ्चालक विक्की भनिने सत्रिप्तसिंह श्रेष्ठलाई पनि पक्राउ गरिएको छ ।

सुर्खेतका एसपी वसन्त रजौरेले उनीहरु उनीहरु दुवैलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए । नेपालगञ्ज उपमहानगरले दैलेख लैजाने भन्दै पठाइएका दुई सय ९१ वटा गाईरगोरु सुर्खेतमा भीरबाट खसालिएको थियो ।

जसमध्ये ४० वटा गाई मरेका र कयौं घाइते भएका थिए । गाईरगोरु ८ वटा ट्रकमा राखेर दैलदेख लाने कामको बोगटीले नै गरेका थिए । यससँगै उक्त प्रकरणमा हालसम्म ९ जना पक्राउ परेका छन् ।