सहभागितामूलक विकास प्रक्रियामा जोड

काठमाडौँ, २१ भदौ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले समृद्ध नेपाल ः सुखी नेपालीको अभियान पूरा गर्न सहभागितामूलक विकास प्रक्रियामा जोड दिनुपर्ने बताएका छन् । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को २५ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँँ आयोजित कार्यक्रममा प्रमुख आयुक्त बाँस्कोटाले मुलुकलाई समृद्ध बनाउन मदिरामुक्त गर्नुपर्ने, खाद्यान्न, तरकारी, माछामासुमा आत्मनिर्भर हुनुपर्ने, युवालाई स्वदेशमा नै रोजगारीको सुनिश्चित गर्नुपर्ने, रासायनिक मललाई विस्थापित गरी जैविक मलको कारखाना सातै प्रदेशमा स्थापना हुनुपर्ने सुझाव दिए ।

उनले संवैधानिक आयोग र कुटनीतिक नियोगमा दलीय आधारमा नभई खुल्ला प्रतिस्पर्धाको आधारमा नियुक्ति, स्वदेशी लगानीमा बुढीगण्डकी परियोजना निर्माण, रञ्जुमार्गको निर्माण, हलोलाई ट्याक्टरबाट विस्थापित, सगरमाथाको हिँउ र लुम्बिनीको माटो तथा यार्सागुम्बालाई विश्व बजारमा बिक्री तथा साहसिक पर्यटनलाई प्रवद्र्धन गर्नुपर्नेलगायतका सुझावहरु पनि उनले प्रस्तुत गरे ।

सो अवसरमा सांसद बिमला पौड्यालले कानून तर्जुमा प्रक्रियामा वकालत, नीतिगत पैरवी गर्न तथा प्रदेश र स्थानीय तहमा सहभागितामूलक लेखाजोखा पद्दतिलाई स्थापित गर्न नेपानजस्ता संस्थाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । नेपानका अध्यक्ष चेतनाथ कणेँलले कार्यसमितिले दुई वर्षको अवधिमा सम्पादन गरेका क्रियाकलापहरुको बारेमा जानकारी दिँदै स्वयंसेवी संस्थाको रुपमा राष्ट्रियस्तरमा नीतिगत पैरवी गर्दै जाने बताए ।

कार्यक्रममा नेपालको विकास प्रणाली, द्वन्द्व तथा शान्ति प्रक्रियामा लामो समयदेखि सशक्तरूपले कलम चलाउँदै आएका डा विष्णुराज उप्रेतीलाई २०७६ सालको ‘प्रसिद्ध कँडेल स्मृति सहभागीमूलक विकास लेखन सम्मान’ प्रदान गरियो । सम्मानपत्रसहित १० हजार राशिको उक्त सम्मान प्राप्त गर्ने उनी दोस्रो व्यक्ति हुन् । गत वर्ष पहिलोपटक सहप्राध्यापक गम्भीरबहादुर हाडाले उक्त सम्मान प्राप्त गरेका थिए ।

सो अवसरमा नेपानले प्रकाशन गरेका डा भोलाप्रसाद दाहालको पुस्तक सहभागितामूलक विकास–बहस, सहभागिता त्रैमासिक र अङ्ग्रेजी जर्नल ‘पार्टिसिपेशन’को विमोचन पनि गरियो । साधारणसभाले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति पनि चयन गर्नेछ । नेपान सञ्जालमा हाल सातै प्रदेशका करीब ३०० विकासकर्मी सदस्य रहेका छन् ।

Loading...