घरको आँगनमा खेलिरहेका ७ वर्षे छोरालाई चितुवाले लगेपछि स्तब्ध मडै

बैतडी, २१ भदौ । चितुवाको आक्रमणबाट बैतडीको तल्लोस्वराडमा एक बालकको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका–२ टाणीखर्कका रामसिंह मडैका ७ वर्षीय छोरा सुदीपको चितुवाको आक्रमणबाट ज्यान गएको हो।

शुक्रबार साँझ घरको आँगनमा खेलिरहेका बेला एक्कासी चितुवाले बालकलाई आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

चितुवाले बोकेर बेपत्ता बनाइएका बालकको शव राति १० बजेतिर घरभन्दा ५०० मिटर टाढा दक्षिणतिरको जङ्गलमा फेला परेको चन्दले बताए।

चितुवाको आक्रमणबाट बालकको ज्यान गएपछि त्यस क्षेत्रका वासिन्दा त्रसित बनेका छन । त्रास बढेपछि अहिले सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट ०६८ यता २४ जनाको ज्यान गइसकेको छ।

Loading...