एमालेबाट मेयरका उम्मेदवार, ज्यान मार्ने उद्योगमा कारागार चलान

राजविराज, २१ भदौ । रौतहटस्थित गरुडा नगरपालिकाको मेयर पदका उम्मेदवार बनेका शेख कलिमुल्लाहलाई सप्तरी जिल्ला अदालतले कारागार चलान गरेको छ।

ज्यान मार्ने उद्योगको मुद्दामा अभियुक्त रहेका शेखलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो। अदालतको आदेशपछि उनलाई पक्राउ गरी सप्तरी जिल्ला कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खड्काले बताए।

शेखविरुद्ध २०५८ सालमा परेको जाहेरी २०७५ सालमा दर्ता भएको थियो। जाहेरीमा गरुडा नगरपालिका–८ की बकरिल खातुनलाई हत्या गर्ने प्रयास गरेको अभियोग छ। जाहेरीमा शेखसहित ४ जनालाई अभियुक्त बनाइएको छ। जसमध्ये २ जना कारागार चलान भएका छन् भने एक जना फरार र एक जना १ लाख धरौटीमा रिहा भएको कानुन व्यवसायी हेमनारायण चौधरीले बताए।

शेखसहितको मिलेमतोमा २०५८ भदौ ५ गते राति बकरिललाई बोरामा पोको पारेर सप्तकोसी नदीमा फालिएको थियो। दाउरा खोज्न गएका रम्पुरा मलहनियाँका स्थानीयले महिलालाई जिउँदै उद्धार गरेका थिए।

शेखले आफूलाई थुनामा राख्ने आदेश गलत भएकाले जमानतमा रिहा गर्न ७३ नं ९साबिक १७ नं० को माग गरेको कानुन व्यवसायीले जानकारी दिएका छन्।

शेख गत स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट गरुडा नगरपालिकाको मेयर पदका उम्मेदवार थिए। एकीकरण हुनपुर्व उनी एमालेका जिल्ला सदस्य थिए। हाल उनी नेकपाको संगठित सदस्य हुन्।

Loading...