एकै दिन एकै जिल्लामा तीन महिलाले तीनतिर झुन्डिएर गरे आत्महत्या

विरगञ्ज, २० भदौ । पर्सा जिल्लाका विभिन्न ठाउँमा एकै दिन तीन जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तीनै जनाले झुन्डिएर आत्महत्या गरेका हुन् । साथै आत्महत्या गर्नेमा तीनै जना महिला रहेका छन् ।

यसरी आत्महत्या गर्ने मध्ये एक विरगञ्ज महानगरपालिका–२७ कुहडीकी ४५ बर्षीया रीखिया देवी महतो रहेकी छन् । उनले आफ्नै कच्ची घरको बलोमा कपडाको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन् ।

त्यसैगरी बिहीबार नै पर्साको पटेर्वासुगौली गाउँपालिका–१ मुजबनियाकी १६ बर्षीया ललिता देवीले झुण्डिएर आत्महत्या गरेकी छन् । उनले सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाइ आत्महत्या गरेको जिप्रका पर्साले जनाएको छ । ६ महिना अघि मात्रै विवाह गरेकी ललिताले पारिवारिक कलहको कारणले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ । सासु–ससुरा र पति विहान सात बजे खेतमा गोडमेल गर्न गएको अवस्थामा ललिताले पासो लगाएर आत्महत्या गरेको खबर आएको पर्सा प्रहरीले जनाएको छ । ललिताका ससुरा किशोरी मुखिया बिनका अनुसार बुहारीलाई खाना पकाएर ल्याउन भनी उनीहरु खेतमा गएका थिए । १० बजेसम्म बुहारी नआएपछि घर आएर हेर्दा बुहारीले ढोका थुनेर आत्महत्या गरेको पाइएको परिवारलाई उधृत गर्दै प्रहरीले जनाएको छ ।

त्यसैगरी विरगञ्ज– १ छप्कैयाकी १९ बर्षीया रुकसार खातुनले पनि बिहिबार झुण्डिएर आत्महत्या गरेकी छन् । आफ्नै घरको सुत्ने कोठाभित्र पंखामा कपडाको पासो लगाइ उनले आत्महत्या गरेकी हुन् । झुण्डिरहेको अवस्थामा आफन्तले देखेपछि पासो फुकाइ उपचारको लागि नारायणी अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । श्रीमानसँग सामान्य विवाद भएपछि उनले आत्महत्या गरेको हुन सक्ने अनुमान आफन्तले गरेका छन् ।