पौडी छनोट हुने

काठमाडौँ, १८ भदौ । नेपालमा हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पौडी खेलमा सहभागी हुने खेलाडीको अन्तिम छनोट गर्ने उद्देश्यले यही भदौ २४ र २५ गते नवौँ ‘एनएसए कप’ पौडी प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितालाई व्यवस्थित एवं भव्यरुपमा सम्पन्न गर्न नेपाल पौडी सङ्घले नाजिर उद्दिन मुस्लिमको संयोजकत्वमा प्रतियोगिता आयोजक समिति गठन गरेको छ ।

छनोटमा १५० पुरुष र १०० महिला गरी करीब २५० खेलाडीको सहभागिता रहनेछ । पुरुष÷महिलामा समान १४–१४ गरी २८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । १६ पुरुष र १२ महिला गरी २८ खेलाडी छनोट गरिने सङ्घका कोषाध्यक्ष एवं संयोजक मुस्लिमले जानकारी दिए ।

उक्त प्रतियोगितामा पुरुष÷महिलातर्फ ५०, १००, २०० र ४०० मिटर फ्रि स्टायल, ५०, १०० र २०० मिटर ब्रेस्टस्ट्रोक, बटरफ्लाई र ब्याकस्ट्रोक तथा २०० मिटर इण्डिभिज्युअल मिड्ले इभेन्ट सञ्चालन हुनेछन् । खेलाडी छनोट फिना अङ्क आधारमा गरिनेछ ।

छनोटबाहेक उमेर समूहका खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले १० वर्ष, १२ वर्ष, १४ वर्ष र १७ वर्षमुनि उमेर समूहको छुट्टै प्रतिस्पर्धासमेत हुनेछ ।

मित्रराष्ट्र चीन सरकारको सहयोगमा मर्मतसम्भारपश्चात् सातदोबाटोस्थित पौडी पोखरीमा पहिलोपटक हुन लागेको उक्त प्रतियोगिता निकै भव्य र व्यवस्थित हुने संयोजक मुस्लिमले बताए ।

Loading...