चितवन, १८ भदौ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जागरण अभियानमार्फत दोस्रो पटक जनताको माझमा जान लागेको बताएका छन ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अहिले पार्टीको गतिविधि र सरकारको काम कारवाहीको बारेमा गाउँगाउँमा जानकारी गराउन जागरण अभियानमार्फत जान लागेको बताए।
मङ्सिरसम्म सङ्गठन निर्माणका काम सकिएपछि मात्रै महाधिवेशनमा प्रवेश गर्ने भन्दै उनले मङ्सिरअघि १३ औँ महाधिवेशनको सङ्गठनलाई सङ्घीय व्यवस्थाअनुरुप रूपान्तरणको काम गरिने जानकारी दिनुभयो । वडा तहसम्म समायोजन गर्न कात्तिक मसान्तसम्म लाग्ने उनको भनाइ थियो ।
केन्द्रको कमजोरीका कारण नेविसङ्घ र तरुणदलले पूर्णता पाउन नसकेको उनले बताए । पूर्णता नपाउँदा पार्टीलाई नै असर परेको उनको टिप्पणी थियो । अबको महाधिवेशनमा तपाईँको उम्मेदवारी हुन्छ भन्ने जिज्ञाशामा सिटौलाले भने, “महाधिवेशनको तालिका तयार भएपछि सबै कुरा आउँछ किन हतारिनु पर्यो ।”