समझदारीपत्रमा हस्ताक्षर

खस्यौली, १७ भदौ । बुटवल उपमहानगरपालिका र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिफआइडी) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल शहरी उत्थानशील परियोजना सुदृढसम्बन्धी समझदारीपत्रमा बेलायतका स्थायी सचिव म्याठ्यु रोय क्रपठ्ले र बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले संयुक्तरूपमा हस्ताक्षर गरे ।

सो अवसरमा बेलायतका स्थायी सचिव रोय क्रपठ्ले बाढी, पहिरो र भूकम्पका कारण बुटवलमा बसाइँसराइ गर्नेको सङ्ख्या बढ्नसक्ने उल्लेख गर्दै सबैका लागि सेवाअन्तर्गत सुरक्षित आवास, स्वच्छ खानेपानी, सफा सडक अनिवार्य आवश्यकता भएको बताए ।

उनले बुटवलजस्तो शहरको दिगो विकासका लागि ठूलो लगानी आवश्यक भएकामा जोड दिँदै वातावरण संरक्षण र हरित क्षेत्र निर्माण शहरका लागि अनिवार्य भएको बताए ।

उपमहानगरपालिकाका प्रमुख सुवेदीले डिएफआइडीसँग भएको समझदारीले आधुनिक विकाससहितको शहर बनाउन र उपमहानगरपालिकाले लिएको रणनीतिक र आवधिक योजनामा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले परियोजनामा विकासका अनुभव आदानप्रदान हुने उल्लेख गर्दै बेलायतको विकास साझेदारसँगको सहकार्यले थप हौसला मिलेको छ भने ।

सो परियोजनाका आर्थिक तथा राजनीतिक सल्लाहकार कृष्ण ज्ञवालीले आर्थिक सक्षमता, उद्यमशीलता, प्राविधिक विकास, पूर्वाधार विकासलगायत क्षेत्रमा परियोजनाले जोड दिएको जानकारी दिँदै आर्थिक वृद्धि हासिल नभई शहरीकरण हुन नसक्ने बताए ।

उनले बेलायत सरकारको उच्चस्तरीय प्रतिबद्धताको प्रशंसा गर्दै परियोजनामा हस्ताक्षर भएपछि कार्यान्वयनको चरणमा पुग्ने उल्लेख गर्नुभयो । परियोजना पाँच वर्षको अवधिसम्म सञ्चालन हुने बताइएको छ ।

कार्यक्रममा बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (डिएफआइडी) प्रमुख म्याथानियल पेभेन, सामाजिक विकास सल्लाहकार सिंहठिया रे र परियोजनाका सल्लाहकार एलिना वेनब्रेभ पनि हस्ताक्षर कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

यसअघि स्थायी सचिव रोय क्रपठ्को टोलीलाई नगरप्रमुख सुवेदी र उपप्रमुख गोमादेवी आर्चायले बुटवलको विकासका विभिन्न अवस्थाका बारेमा जानकारी गराएका थिए ।