पुल नहुँदा समस्या

घोडाघोडी, १६ भदौ । कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न वडाका बासिन्दालाई कान्द्रा नदीमा पुल नहुँदा समस्या भएको छ । नदीमा पुल नहुँदा बालबालिका, वृद्धवृद्धा, बिरामी र सुत्केरीलाई आवत–जावत गर्न कठिन भएको हो । उक्त नदीमा पुल नहुँदा वर्षात्को समयमा स्वास्थ्य सेवा लिन, दैनिक उपभोग्य सामान खरीददेखि लिएर नगरपालिका तथा प्रशासन कार्यालय आउनसमेत समस्या हुने गरेको घोडाघोडी नगरपालिका–१२ का श्याम चौधरी बताउछन।

घोडाघोडी–१२ का हरिराम थारू भन्छन, “आधारभूत भौतिक पूर्वाधार निर्माणमा जनप्रतिनिधिले ध्यान दिएर काम गर्नुपर्छ । कम्तीमा नगरपालिकाको केन्द्रसम्म सबैको पहुँच पुग्ने गरी संरचना निर्माण गर्नुपर्छ । पानी परेका बेला हामी नगरपालिकाको केन्द्रमै पुग्न पाउँदैनौँ, कहिलेकाहीँ वर्षात्को बेला बिरामी परे धेरै समस्या हुने गरेको छ ।”त्यस्तै नगरपालिकाको वडा नं ९ सिखरझालाबाट थेवै हुँदै पहलमानपुर बजार जोड्ने उक्त नदीमा पुल नहुँदा सिखरझाला, गोदनी, विष्टटोललगायतका बासिन्दालाई समस्या हुने गरेको छ । सिखरझालाको मुख्यबजार पहलमानपुर जाँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता रहेको सिखरझालाका धन रावत बताउनुहुन्छ । उनि भन्छन, “हाम्रो मुख्यबजार पहलमानपुर हो तर बर्सातमा हामीलाई आवतजावत गर्न निकै कठिन छ । खोलामा बाढी आएको दिन तर्न सकिँदैन । पुल नभएका कारण मुख्य काम पनि छुट्ने गरेका छन् ।”

उक्त नदीमा पुल नहुँदा वर्षात्मा विद्यार्थीलाई पनि विद्यालय तथा क्याम्पसमा पुग्न कठिन भइरहेको छ । क्याम्पस पढ्ने विद्यार्थी जोखिम मोलेर खोला तर्ने गरे पनि स–साना बालबालिकालाई भने निकै समस्या हुने गरेको कान्ति माध्यमिक विद्यालयका प्रधानाध्यापक उमाकान्त मिश्र बताउछन । स्वास्थ्य सेवा लिनलाई पनि स्थानीयवासीले वर्खाको बेला सास्ती खेप्दै आएका छन् । हिउँदको समयमा जोखिम कम हुने भए पनि बर्खाको भेलमा यो खोला तर्न निकै सकस हुने गरेको छ । पुलका लागि स्थानीयवासीले बारम्बार माग गर्दै आए पनि हालसम्म पनि कसैले यसतर्फ ध्यान नदिएकाले वर्षात्को समयमा खोला तर्न जोखिम मोल्नुपर्ने बाध्यता यथावत रहेको उनको भनाइ छ ।