दुई सय ५५ विपन्न परिवारलाई घर निर्माण

सुरुङ्गा १४ भदौ । बाढी प्रभावित क्षेत्र, सीमान्तकृत र विपन्न समुदायका २५५ परिवारले नयाँ घर पाएका छन् । सामुदायिक आवास कार्यक्रमअन्तर्गत ह्याविट्याट नेपाल र सहारा नेपालको आर्थिक तथा प्राविधिक सहयोग अनि स्थानीय तहको सहकार्यमा झापाका सात स्थानीय तहमा २५५ घर निर्माण गरिएका हुन् ।

घर निर्माणका लागि प्राविधिक सहयोगसहित ह्याविट्याड नेपालले प्रतिघर ५० हजार, सहारा नेपालले २५ हजार र स्थानीय तहले ७५ हजार सहयोग गरेको सहारा नेपालकी कार्यक्रम संयोजक लीला शिवाकोटीले बताए । सन २०१८ सेप्टेम्वर १४ बाट घर निर्माण थालिएको र १४ सेप्टेम्बर २०१९ अगावै घर निर्माण सम्पन्न भएको उनले बताए ।

झापा गाउँपालिकाका ३० परिवारलाई भने घर हस्तान्तरण गरिसकिएको र अन्य स्थानीय तहका परिवारलाई घर हस्तान्तरण थालिएको शिवाकोटीले बताए । घरधनीको जन श्रमदानसहित एउटा घर निर्माणका लागि दुई लाख १२ हजार खर्च भएको बताइएको छ । उक्त घर निर्माणका लागि जनश्रमदानसहित पाँच करोड १३ लाख ६० हजार खर्च भएको कार्यक्रम संयोजक शिवाकोटीले बताए ।

स्थानीय तहसँगको सहकार्यमा कनकाई नगरपालिकामा ३७, बिर्तामोडमा ३०, अर्जुनधारा नगरपालिकामा ३९ घर निर्माण भएका छन् भने झापा गाउँपालिकामा ७०, बाह्रदशीमा १०, हल्दिवारीमा ३३, र गौरीगञ्ज गाउँपालिकामा ३६ घर निर्माण भएका सहारा नेपाल सहकारी संस्थाकी कार्यक्रम निर्देशक पुष्पाञ्जली सिंहले बताइन् ।

हल्दिवारी गाउँपालिकाले भने घर निर्माणका लागि प्रतिघर एक लाख सहयोग गरेको बताइएको छ । बाँकी छ वटा स्थानीय तहले ७५ हजारका दरले घर निर्माण गर्न सहयोग गरेको बताइएको छ । गत आर्थिक वर्ष साविक दुवागढी, धाइजन, अर्जुनधारा र सुरुङगा गाविसमा ६६ घर निर्माण गरिएको थियो भने आगामी आव ३०० विपन्न परिवारका लागि घर निर्माण गरिने बताइएको छ ।