भीमदत्तनगर, १४ भदौ । कञ्चनपुरको गड्डाचौकी नाकामा लुटिएका एक नेपाली युवकको उद्धारका लागि सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको टोली यहाँ आइपुगेको छ ।
कञ्चनपुरको गड्डाचौकीबाट आज बिहान भारतमा मजदूरी गरेर घर फर्किरहेका कैलालीको घोडाघोडी नगरपालिकाका हेमन्त बुढामगरको नगद र सामान लुटिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले गड्डाचौकीमा हालै स्थापना गरेको सीमा सहायता कक्षको सम्पर्कमा आएका युवक बुढामगरको उपचार एवं उद्धारका लागि मन्त्रालयका निमित्त सचिव तेजप्रकाश जोशी यहाँ आइपुगेका छन् ।
महाकाली अञ्चल अस्पतालमा उपचारका लागि युवकलाई ल्याइएको भन्दै निमित्त सचिव जोशीले घटनाको सघन अनुसन्धान र लुटपाट गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउन पहल गर्ने बताए ।
“सीमा सहायता कक्षबाट खबर पाउनासाथ हामी युवकको उद्धारका लागि आएका हौं ।” उनले भने–“अहिले युवक अर्धचेत अवस्थामा भएकाले घटनाको पूरै विवरण लिन सकिएको छैन ।”
प्रदेशको कानून मन्त्रालयले कञ्चनपुरको गड्डाचौकी र कैलालीको धनगढीस्थित त्रिनगर भन्सार नाकामा सीमा सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको छ ।