गाउँपालिकाका कारण एक वर्षदेखि ६ स्कूलका शिक्षकले तलब नै पाएनन

रोल्पा । गाउँपालिकाले गरेको गलत निर्णयका कारण रोल्पाका ६ विद्यालयमा कार्यरत करिब दुई दर्जन बढी शिक्षकले एक वर्षयता तलब खान पाएका छैनन् । शिक्षकले तलब त पाएनन् नै विद्यार्थीको छात्रवृती, खाजा, पुस्तक र मसलन्दको रकम समेत रोकिएको छ। पश्चिम रोल्पाको गंगादेब गाउँपालिकाले औपचारिक रुपमै विद्यालयहरुको बैङ्क खाता रोक्का गरिदिएपछि शिक्षक विद्यार्थीको बिचल्ली भएको हो ।

‘तलब नखाएको करिब एक वर्ष भयो। किताब, छात्रवृृती, मसलन्द सबै रकम रोकिएको छ। कहाँ गुनासो गर्ने।’ जनचेतना प्राबि जिनावाङका प्रअ सीता वलीले भनिन् ‘शिक्षक महासंघमा पनि कुरा राखेको हो। ऋण गरेर स्कुल चलाउदै छौ। प्रअ भएपछि विद्यालय चलाउनै प-यो। बडो कठिन छ। हाम्रो समस्या सबैलाई थाहा छ तर समाधानमा कसैले पहल नै गरेन। ’

उनीजस्तै लोकतन्त्र प्राबि राकका प्रअ टोप बहादुर केसी पनि विद्यालयको बिजोग सुरु भएको बताउँछन्। ‘गत वर्ष साउनदेखि तलब पाएका छैनौ। खाता रोक्का छ। ऋण गरेर विद्यालय चलाएका छौ। ’ उनका अनुसार विद्यार्थीलाई छात्रबृती र खाजा पनि दिइएको छैन। ५ जना शिक्षकले एक वर्ष यता उधारोमा पढाई रहेका छन्।

दसरथबिन्दु प्राबिका प्रअ चन्द्र कला वली, इन्द्र सेवक प्राबिका प्रअ राजकुमार वली पनि गाउँपालिकाले खाता बन्द गरेपछि विद्यालय संचालनमा समस्या आएको बताउँछन। ‘पोहर असारमा पैसो आएको। त्यसपछि आएको छैन। खाजा बन्द छ। छात्रवृृती पनि छैन। अस्तब्यस्त छ। ’ शिक्षक भन्छन् कतिन्जेल ऋण र उधारो विद्यालय चलाउने। विभिन्न शिक्षक संगठनका नेता र शिक्षक महासंघमा पटक पटक गुनासो गरे पनि समस्याको समाधान नभएको शिक्षकहरु बताउँछन।

त्यसो त प्रअ र शिक्षकहरु जस्तै विद्यालय ब्यबस्थापन समिति पनि दिक्क परेका छन्। ‘गाउँपालिकाले लिखित रुपमै बिद्यालयको खाता रोक्का गरिदिएपछि समस्या आएको हो। यतिबेला एक वर्ष यता उधारोमा विद्यालय चलाउनु परेको छ। ’ ज्ञानकुन्ज प्राबि ओतका विद्यालय ब्यबस्थापन समिति अध्यक्ष धर्मबहादुर डागीले भने ‘अदालतले दिएको आदेश मिचेर गाउँपालिकाले हामीलाई काम गराउन खोजेको छ। त्यसो नगर्दा विद्यालयको खाता रोक्का गरियो। ’

किन रोकियो बैङ्क खाता?

पोहर असोजमा गाउँपालिका प्रमुखले शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्दै यहाँका ९ वटा विद्यालयका विद्यालय ब्यस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुले न्यायको माग गरेका थिए। गंगादेब गाउँपालिका प्रमुखले आफ्ना मान्छे भर्ना गर्न शिक्षाका श्रोत ब्यक्ती, सम्बन्धित विद्यालयका विद्यालय ब्यस्थापन समिति र प्रधानाध्यापकहरुलाई कुनै पनि प्रकृयामा सहभागी नगराएको उनिहरुको आरोप थियो।

शिक्षा विभागले गंगादेब गाउँपालिकामा शिक्षण सिकाई अनुदान कोटामा दिएको प्राथमिक तह अन्र्तगत १३ बिद्यालयको १३ जना शिक्षक नियुत्तीका विषयमा विवाद आएको हो। विवाद आएपछि एक वर्ष यता नियुक्ति प्रकृया नै रोकिएको छ।

शिक्षा विभागमार्फत आएको उक्त शिक्षक कोटा जिल्ला शिक्षा समितिले सम्बन्धित विद्यालय ब्यबस्थापन समितिलाई पत्राचार गर्दै नियम पर्र्वक शिक्षक नियुत्ति गर्नु भनेको थियो। १३ विद्यालय मध्यका ९ विद्यालयले गाउँपालिकाले विधि मिचेर परिक्षा गराएको भन्दै लिखित रुपमा जिल्ला समन्वय समिति, जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा उजुरी निवेदन दिएका थिए।

जिल्लामा कतैबाट न्याय नपाएको भन्दै सर्बोच्च अदालत पुगेकाहरुको पक्षमा फैसला भयो। हाललाई नियुक्ति नगराउनु भन्दै अदालतले विद्यालयहरुलाई आदेश दियो। तर गाउँपालिकाले उतिबेला गराएको परिक्षामा सहभागी सफल भनिएका उमेद्वारलाई अन्र्तवार्ता गराएर विद्यालयमा नियुक्ति दिन दबाव दिदै बैङ्क खाता रोक्का गरिदिएको हो। यो विषयमा शिक्षक महासंघका रोल्पाका अध्यक्ष भिमप्रकाश पुनले आफूलाई कुनै जानकारी नभएको बताए।

उता गंगादेब गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्रोत ब्यक्ति शेरबहादुर डागि पनि खाता रोक्का गरिएको पुस्टी गर्दै शिक्षक माथि अन्याय भएको बताउँछन। ‘गाउँपालिकाले विद्यालयको खातामा पैसो त पठाएको हो तर गाउँकार्यपालिकाको निर्णयले खाता रोक्का गरिएको छ। शिक्षकहरु मारमा परेका छन। ’ उनका अनुसार गाउँशिक्षा समिति र गाउँकार्यापालिकाले खाता रोक्का गर्ने निर्णय गरेका थिए।

शिक्षकको तलब मात्र नभएर बिद्यालयले पाठ्यपुस्तक उधारो चलाईरहेको बताउदै डागी भन्छन ‘शिक्षकले पढाउन त पढाइरहेका छन। छात्रवृृती, बिद्यार्थिको खाजा सबै रोक्का छ। ’ उनले थपे ‘शिक्षक र बिद्यार्थीलाई अन्याय त भएकै हो। अदालतले पनि अहिलेलाई नियुक्ति गर्न रोकेको छ। पछिल्लो केहि महिना यता गाउँपालिकामा यो विषयमा कुनै छलफल भएको छैन। ’

दिनेश सुवेदीले नागरिकमा खबर लेखेका छन् ।

Loading...