प्रअकै भरमा शिक्षा शाखा

सल्यान । सल्यानको कुमाख गाउँपालिकाको शिक्षा शाखामा हालसम्म कुनैपनि कर्मचारी छैनन् । २०७५ साल माघ ३० गतेदेखि संघीय सरकारले कार्यरत स्रोतव्यक्तिहरूको काज फिर्ता गरी हटाएपछि यो अवस्था सिर्जना भएको हो ।

कर्मचारीको अभावले गर्दा विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण, कक्षा अवलोकन-परामर्श, रिपोर्टिङ जस्ता प्राविधिक कार्य ठप्प रहेका छन् भने विद्यालयका तथ्याङ्क संकलन तथा अद्यावधिक कार्य लगायतका विद्यालयसँग सम्वन्धित विविध कार्यहरूका साथै प्रशासनिक एवम् विभिन्न निकायहरूसँगको समन्वयात्मक कार्य समेत प्रभावित बनेका छन् ।

संघीय सरकारले बिना कुनै पूर्व तयारी स्रोतव्यक्तिहरूलाइ साविकका स्कुलमा पठाएपछि वा हटाएपछि यो समस्या देखा परेको हो । यस अवस्थामा त्यसतर्फ कसैको चासो देखिएको छैन भने स्थानीय सरकारले पनि हालसम्म कुनै पहल गर्न सकेको छैन ।

विद्यालय शिक्षा हेर्नेगरी नजिकैको जनता मा.वि. रागेचौरका प्रधानाध्यापक नोख बहादुर गोसाइलाई शाखा प्रमुखको रूपमा जिम्मेवारी दिइएको छ ।

शाखाबाट हुने सिफारिस गर्ने, बजेट निकासा माग, प्रतिवेदन तयारी जस्ता काम थप कुनै सुविधा नलिइ प्रधानाध्यापक गोसाइले गर्छन । अन्य ठाउँमा पुर्णकालिन कर्मचारीले गरेजस्तै काम कुमाखमा गोसाइले गर्छन । उनले स्कुल छुट्टीको समय र अन्य विहान बेलुका गाउँपालिकाको शिक्षा शाखाको काम गरेको जनाए । विना तलव अन्य कर्मचारीको जस्तै काम गर्नुपरेको उनले बताएका छन । उनले गाउँपालिकाको अग्रहमा काम गरेको भन्दै यत्रो शिक्षा शाखा संचालनको लागि छुट्टै शाखा प्रमुख र कर्मचारीहरू हुनुपर्ने बताएका छन् ।

त्यस्तै शाखाको अन्य कामका लागि अनमी सपना शर्मालाइ जिम्मा दिइएको छ । उनले शिक्षा शाखाका फाइल मिलाउने, माग फाराम तथा अभिलेख राख्ने काम गर्छिन ।

यस विषयमा प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीले कर्मचारी अभावको कारण यस्तो गर्नुपरेको बताए । उनले स्थानिय तहमा काम गर्न सहज हवस भनेर नजिकैको गाउँपालिकाकै अग्रणी विद्यालयका प्रधानाध्यापकलाइ यो जिम्मा दिएको बताए । उनले कार्यालयमा शिक्षामा मात्रै हैन अन्य शाखामा पनि कर्मचारी नपुगेको भन्दै त्यसमा संघीय सरकारकै तर्फबाट पहल हुनुपर्ने बताए । स्वास्थ्यको कर्मचारी शिक्षा शाखामा किन राख्नुभएको भन्दा उनले सहजताका लागि यो गरिएको बताए ।

तपाइँले तलव विना नै विद्यालयका पधानाध्यापकलाइ काम लगाएको हो भन्ने प्रश्नमा उनले भने – “तलव विना भन्दा पनि कार्यपालिकाको निर्णय अनुसार काम गरे वापतको रकम उपलब्ध गराएका छाै।”

सरकारले लगानी गरेका पूर्व स्रोतव्यक्तिहरूलाई जिम्मा दिनुपर्ने भन्दै सामाजिक संजालमा शिक्षा क्षेत्रलाई हेरिने दृष्टिकोणमा आमूल परिवर्तन ल्याउनु दुरदर्शी र आग्रहपूर्वाग्रहरहित हुन पूर्व स्रोतव्यक्ती लोकेन्द्र सि राठारले अनुरोध गरेका छन । उनले सामाजिक संजालमा सुझाव दिदै स्थानीय सरकारले समयको माग अनुसार अझ व्यावहारिक एवम् वैज्ञानिक शिक्षा पद्धति उन्मुख शिक्षाका नीति तथा कार्यक्रमहरू लागू गर्न अग्रणी भूमिका निर्वाह गरेमा मात्रै आगामी दिनमा उनिहरूप्रति शैक्षिक जगत र समाजको आस्था र भरोसा रहिरहने उल्लेख गरेका छन ।

शिक्षा नै समग्र क्षेत्रको विकासको मेरुदण्ड भएकाले विद्यालयको भौतिक पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन र शैक्षिक गुणस्तर वृद्धि र विकासका लागि सम्वन्धित निकायले बुझ्न आवश्यक छ ।

सल्यानमा कुमाख बाहेक अन्य सबै स्थानीय तहहरूमा पूर्व स्रोतव्यक्तिलाई व्यवस्थापन गरी कामको जिम्मेवारी दिइएको छ । कुमाखमा ४८ वटा सामुदायिक विद्यालय र ४ वटा संस्थागत विद्यालय गरी जम्मा ५२ वटा विद्यालय रहेका छन् ।