भक्तपुर मालपोतका सुब्बा र लेखापढी व्यवसायीमाथि अख्तियारको मुद्दा

काठमाडौँ, १० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा हरिनारायण उपाध्याय र लेखापढी व्यवसायी हीरामणि निरौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कार्यालय समयमा सेवाग्राहीको भीडभाड बढी हुने भनी लेखापढी व्यवसायी निरौलाले काम सहज गरिदिने भन्दै सेवाग्राहीसँग रु चार हजार घुस लिएको अभियोग लागेको छ । निरौलामार्फत नायब सुब्बा उपाध्यायले घुस लिएको पाइएकाले बिगोबमोजिम कारवाहीको माग गरी मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले मावि रझेना घोराही दाङमा कार्यरत शिक्षक गणेश केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । डिप्लोमा इन सिभिल इञ्जिनीयरिङको प्रवेश परीक्षा उत्तीर्ण गराइदिने भन्दै शिक्षक केसीले विद्यार्थीसँग रु १० हजार घुस लिएको अभियोग लागेको छ ।

त्यस्तै आयोगले नगराइन नगरपालिका, धनुषाका सब इञ्जिनीयर उमेश मण्डलविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभिन्न योजनाको कार्य सम्पन्न भई रकम भुक्तानी लिन सहज गराइदिने बहानामा सेवाग्राहीसँग मण्डलले रु ५५ हजार घुस लिएको अभियोग लागेको छ ।

Loading...