काठमाडौँ, १० भदौ । विश्व शान्ति स्थापना कार्य एवं विपद् व्यवस्थापनमा पेशागत दक्षता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाले विभिन्न मुलुकका सैनिकसँग तालीम र अभ्यास गर्दै आएको छ । दुई पक्षीय वा बहुपक्षीयरुपमा हुने यस्ता तालीम कुनै देश वा मिसनविरुद्ध नभई नेपाली सेनाको विशुद्ध पेशागत क्षमता, दक्षता र व्यावसायिकता अभिवृद्धि गर्ने उद्देश्यमा केन्द्रित रहेको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिए ।
आर्थिक वर्ष २०७५÷७६ मा विश्वका ४० भन्दा बढी देशमा सञ्चालित विभिन्न तह र विषयका तालीम, सेमिनार, अभ्यास र भ्रमणमा एक हजार १२३ नेपाली सेनाका सकल दर्जा र रक्षा मन्त्रालयका पदाधिकारी सहभागी भए। छिमेकी मुलुक भारत र चीनदेखि अमेरिका, बेलायत, रुस, जर्मनी, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, इण्डोनेसिया, भियतनाम, युगाण्डा, जापान, थाइल्याण्ड, नाइजेरिया, लेवनान, पोल्याण्ड, ब्राजिलसम्मका देशसँग नेपालीको प्रगाढ सैनिक सम्बन्ध रहिआएको छ ।
दक्षिण कोरिया, क्यानडा, इरान, युक्रेन, फिजी, म्यान्मार, माल्दिभ्स, संयुक्त अरव इमिरेट्स, इजरायल, सिङ्गापुर, फिलिपिन्स, भूटान, कम्बोडिया, स्वीट्जरल्याण्ड, सुडान, बु्रनाई, ओमान, मलेसिया, न्यूजिल्याण्ड, इटाली, मङ्गोलिया, पपुवा न्यूगिनीलगायतका मुलुकसँग पनि नेपाली सेनाले तालीम र अभ्यासका माध्यमबाट सैनिक सम्बन्ध विस्तार गर्दै आएको छ ।
विश्वका ११ द्वन्द्वरत मुलुकका १२ स्थानमा स्थापना भएको शान्ति मिसनमा खटिने क्रममा ती देशसँग पनि नेपाली सेनाले सम्बन्ध विस्तार गर्दै आएको छ । कङ्गो, दक्षिण सुडान, सुडान, पश्चिम सहारा, इजरायल, लेवनान, माली, सिरिया, इराक, लिबिया र सेन्टर अफ्रिकन गणतन्त्रमा अहिले नेपाली शान्ति सैनिक खटिरहेका छन् । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति सैनिक पठाउने देशको सूचीमा नेपाल पाँचाँै नम्बरमा छ ।
कुनै गुट उपगुटमा सहभागी नभई सेनाबीच ज्ञान सीप आदानप्रदान गर्ने क्रममा दुई पक्षीय र बहुपक्षीय तालीम एवं सहयोगलाई नेपालले निरन्तरता दिँदै आएको छ । केही समयअघि संसद्मा दिनुभएको लिखित मन्तव्यमा उपप्रधानमन्त्री पोखरेलले भने “नेपालको परराष्ट्र नीतिको सिद्धान्तमा आधारित भएर गरिँदै आएको सैन्य अभ्यासको एकमात्र उद्देश्य भनेको नेपाली सेनालाई आधुनिक सैन्य प्रविधि र कौशलसँग परिचय गराई व्यावसायिक दक्षता बढाउनु हो ।
नेपाल सरकारले नेपालको परराष्ट्र नीति, हालै जारी गरेको राष्ट्रिय सुरक्षा नीति तथा निकट भविष्यमा जारी गरिने राष्ट्रिय प्रतिरक्षा नीतिका आधारमा राष्ट्रिय हितलाई सर्वोपरि राखेर अन्य मुलुकसँग नेपालले सैनिक सम्बन्ध राख्ने जनाउँदै आएको छ । भारत र नेपालबीच एक्स–सूर्यकिरण नाम दिइएको जङ्गल युद्धकला तथा प्रतिआतङ्कवादसम्बन्धी ज्ञान–सीप आदानप्रदानको अभ्यास सञ्चालन हुँदै आएको छ भने चीनसित पारस्परिक सम्बन्ध अभिवृद्धि गर्न एक्स–सगरमाथा सञ्चालनमा छ ।
श्रीलङ्कासँग एक्स–कर्मो¥यान्ट स्ट्राइक, पाकिस्तानसित फिजिकल एजिलिटी एण्ड कम्ब्याट एफिसेन्सी सिस्टम, बेलायतसँग एक्स–क्याम्ब्रियन प्याट्रोल तथा नेपाली र अमेरिकी सैनिकबीच जेसिइटीअर्थात् जोइन्ट कम्बाइन्ड एक्सरसाइज एण्ड टे«निङ एक्स ब्यालेन्स नेल एण्ड टिक नेल जस्ता दुईपक्षीय र बहुपक्षीय सैनिक अभ्यास हुँदै आएको छ ।
वीरेन्द्र शान्ति कार्य तालीम केन्द्र पाँचखालमा शान्ति सेना तैनाथीका लागि तयारीसम्बन्धी ग्लोवल पिस अपरेशन इनिसिएटिभ र विपद् व्यवस्थापनजस्ता तालीम सञ्चालन हुने गरेको छ । यसैबीच, पर्सामा सञ्चालित काउन्टर इन्सरजेन्सी तथा जङ्गल वारफेर कोर्स ६२ जना, भैरवनाथ गणमा सञ्चालित प्याराबेसिक ३०, आर्मी अफिसर्स क्याडेट २४ र कमाण्ड तथा स्टाफ तालीम केन्द्र, शिवपुरीमा ८४ जना विदेशी सैनिकले पूरा गरेका नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।
मुस्ताङमा सञ्चालित माउण्टेन वारफेर तालीम २९३ जना विदेशी शिक्षार्थीले पूरा गरिसकेका छन् । दुई वर्षयता नेपालमा भएका विभिन्न ११ वटा तालीममा ५११ विदेशी सैनिकको सहभागिता थियो । द्विपक्षीय तथा बहुपक्षीय संयुक्त सैनिक अभ्यास तथा तालीमको उद्देश्य नेपाल र मित्रराष्ट्रका सेनाबीच सहकार्यको विकास गर्नु रहेको नेपाली सेनाले जनाएको छ ।
पूर्वरक्षामन्त्री भीमबहादुर रावलले सैनिक होस् वा प्रहरी कुनै पनि निकायको बेग्लै कूटनीति नहुने भएकाले राष्ट्रले अवलम्बन गरेको परराष्ट्र सम्बन्ध र नीतिका आधारमा मात्र उनीहरुको खटनपटन र परिचालन हुने कुरामा हामी सबै सधैँ सचेत हुनुपर्छ भने। नेपाल स्थापना कालदेखि नै असंलग्न आन्दोलनको सदस्य भएको र कुनै पनि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सैनिक वा सुरक्षा गठबन्धनमा सामेल हुनुहुन्न भन्नेमा प्रष्ट रही संवैधानिक तथा नीतिगत व्यवस्थाको परिधिभित्र रहेर तालीम र अभ्यास सञ्चालन हुँदै आएको उपप्रधानमन्त्री पोखरेलले बताए ।
अर्का पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले तालीम वा भ्रमणमा जाने कुनै पनि सैनिक होस् वा प्रहरीले तोकिएको कार्यदेशभित्र मात्र सीमित रहने हुनाले सम्बन्ध विस्तारमा बेग्लै तात्विक योगदान पु¥याउलाजस्तो आफूलाई नलागेको प्रतिक्रिया दिए।